राजनीतिसँगै उत्पादनमा जोडिएका नेता, रामेछापका लेकाली आलुको बजार विस्तार गर्दै राजधानी छिरे – Nepal Press

राजनीतिसँगै उत्पादनमा जोडिएका नेता, रामेछापका लेकाली आलुको बजार विस्तार गर्दै राजधानी छिरे

भक्तपुर । राजनीतिमा लागेका र जनताको प्रतिनिधि बनेका नेताहरु के सबै खराब छन् त ? एकाधले गर्दा सबै राजनीतिकर्मीमाथि प्रश्न उठिरहेका बेला २०४९ सालदेखि निरन्तर जनताबाट निर्वाचित हुँदै २०७९ मा पराजित भएका एक नेताले आफ्नो कृषि कर्मलाई राजधानी काठमाडौं भित्र्याएका छन् ।

नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य तथा रामेछापको गोकुलगंगा गाउँपालिकाका पूर्व अध्यक्ष खड्गबहादुर सुनुवारले आफ्नो परिश्रम र लगानीमा उच्च हिमाली पाखामा उत्पादन भएको आलुको बजार राजधानी भित्र्याएका हुन् ।

कुनैबेलाको पर्यटकीय बजार जिरीबाट पूवोत्तर क्षेत्रमा अवस्थित गोकुलगंगाको रस्नालु र उमाकुण्डको गुप्तेश्वर क्षेत्रमा अवस्थित मनोरम ताँवे फाँट तथा हिमाली क्षेत्रमा सुनुवारले आलु खेती गर्दै आएका छन् । उनले त्यहाँ किबी र चिया खेती पनि गरेका थिए ।

स्थानीय बजारबाट उनले अग्र्यानिक आलुको बजार बिस्तार गर्ने क्रममा भक्तपुरको गठ्ठाघरमा सटर लिएर विक्री थालेका हुन् । मौसम अनुसारको उत्पादन बिक्री गर्ने क्रममा उनको पसलमा अहिले अग्र्यानिक आलु किन्नेको भीड लागेको छ ।

विशेषगरी रामेछापकै राजनीतिक कार्यकर्ताहरुले उदाहरणीय काम गरेको भन्दै सामाजिक संजालमा प्रचार गरेपछि उनलाई आलु बेच्न भ्याइ नभ्याइ छ ।

रामेछापमा विकासप्रेमी नेता भनेर चिनिएका सुनुवार कृषीलाई व्यवसायिकरण गर्नेमा पनि अगुवा हुन् । गाउँपालिका अध्यक्ष हुँदा उनले कृषि पकेट क्षेत्रको रुपमा विकास गरेकोमा अब आफैं कृषक बनेको बताए ।

एनले गोकुलगंगामा फलेको अर्गानिक आलु भक्तपुरको गठ्ठाघरमा बिक्रिको लागि ल्याएको भन्दै वागमती प्रदेशका पूर्व अर्थमन्त्री कैलाश ढुंगेलले ले सह्राहना गरेका छन् ।

ढुंगेलले भने- यसबाट उत्पादन गर्ने किसानहरुलाई प्रोत्साहन र काठमाडौंबासीलाई रामेछापका उच्च लेकमा उत्पादन भएको अर्गानिक आलुको स्वाद मिलेको छ । ब्याबसायीक आलु उत्पादनमा खड्ग जी ले आफू पालिका अध्यक्ष हुँदा राम्रो अनि ब्यबहारिक जनपक्षीय योजना बनाएर ल्याउनुभयो । प्रदेशका तत्कालिन कृषि मन्त्री दावादोर्जे लामा र मेरो पनि त्यसमा सहयोग भयो,आज उहाँले उत्पादन गरेको आलु यहाँ पाउँदा खुशी लागेको छ ।

२०४९ सालमा तत्कालीन रस्नालु गाविसको उपाध्यक्ष,त्यसपछि कार्यवाहक अध्यक्ष,२०५४ सालमा गाविस अध्यक्ष हुँदै २०७४ मा गाउँपालिका अध्यक्ष बनेका सुनुवार यहाँ विकासे नेताका रुपमा स्थापित छन् । उनी राजनीतिसँगै उत्पादनका काममा समेत जोडिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *