केरुङ जाने कन्टेनरका चालकलाई प्रवेश पास दिन अध्यागमनको पत्राचार – Nepal Press

केरुङ जाने कन्टेनरका चालकलाई प्रवेश पास दिन अध्यागमनको पत्राचार

काठमाडौं । रसुवागढी नाका हुँदै चीनको केरुङ जाने ट्रक कन्टेनरका चालकलाई चीन प्रवेश अनुमति-पत्रसम्बन्धी कार्यविधि कार्यान्वयन गर्न अध्यागमन विभागले रसुवागढी नाकाको टिमुरेस्थित अध्यागमन विभाग र जिल्ला प्रशासन कार्यालय रसुवालाई पत्राचार गरेको छ ।

रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने अनुमति-पत्रसम्बन्धी कार्यविधि २०७६ भदौ २५ गते मन्त्रीस्तरबाट स्वीकृत भएको थियो । तर, अहिलेसम्म पनि ट्रक चालक तथा सहचालकहरुले प्रवेशपत्र नपाएपछि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका थिए ।

महासंघ र संगठनका प्रतिनिधिहरुले असारयता लगातार अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसँग भेटेर समस्या सुल्झाउन आग्रह गरेका थिए । विभागले नेपालस्थित चीनको राजदूतावासका सेकेण्ड सेक्रेटरीसँग छलफल गरेर चीनको कस्टम अथोरिटीसम्म विषयको ध्यानाकर्षण गराएको थियो ।

चीन यस विषयमा सकारात्मक देखिएपछि नाकामा पत्राचार गरिएको महानिर्देशक अधिकारीले जानकारी गराए ।

गृह मन्त्रालय अध्यागमन शाखाले जारी गरेको कार्यविधि २०७६ मा चार प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था गरेको छ । उक्त कार्यविधिमा सवारी चालक प्रवेश अनुमतिपत्र, कामदार प्रवेश अनुमतिपत्र, व्यवसायी प्रवेश अनुमतिपत्र, एकदिने प्रवेश अनुमतिपत्रको व्यवस्था भएता पनि अहिलेसम्म चालक, सहचालक तथा व्यवसायीहरुले चीन प्रवेश अनुमतिपत्र पाएका छैनन् ।

कार्यविधि कार्यान्वयन नहुँदा ९६६ वटा ट्रक कन्टेनरका चालकहरुले काठमाडौंबाट १३२ किलोमिटर दूरीमा रहेको रसुवागढीको टिमुरेसम्म सवारीसाधन पुर्‍याएर चीन प्रवेश अनुमतिपत्र भएका रसुवा जिल्लावासी चालक खोजेर २४ किलोमिटर दूरीमा रहेको केरुङ लान १५ हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको छ ।

चालकहरुलाई पासको व्यवस्था गर्न आग्रह गर्दै लकडाउन अघि र पछि संगठन तथा महासंघ र लिमिटेडको तर्फबाट रसुवा अध्यागमन कार्यालय, रसुवा भन्सार कार्यालय, रसुवा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय रसुवा र गोसाईंकुण्ड गाउँपालिकालाई ध्यानाकर्षण गराइएको थियो ।

अध्यागमन विभागबाट निस्कँदै मजदुर नेता भीमज्वाला राईले बल्ल अलिकति भए पनि खुशी मिलेको बताए । राईले भने करिब ५ वर्षदेखिको मेहनतले बल्ल सार्थकता पाउन लागेको बताए ।

यो हाम्रोभन्दा पनि देशको समस्या भएकाले समाधान हुनेमा आफूहरु आशावादी रहेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले बताए ।

‘अब महँगो पैसा दिएर अपरिचित व्यक्तिको जिम्मा लाएर हाम्रा लाखौंको सवारीसाधन केरुङ पठाउनुपर्ने दिनको अन्त्य हुनेछ भन्ने हामीले आशा गरेका छौं’, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले भने ।

यो निर्णयको कार्यान्वयनसँगै रसुवा र तातोपानी नाकाबाट सामान ढुवानी गर्ने करिब ३ हजार मजदुरहरुले राहत पाउने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको ट्रक इकाईका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले बताए ।

अब हाम्रो ध्यान चीनको भूभागमा विभिन्न बहानामा त्यहाँ पुग्ने नागरिकमाथि दुर्व्यवहार हुने, प्रशासनिक झमेला सृजना गर्ने कार्यहरु अन्त्य गर्न क्रियाशील हुने अध्यक्ष श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *