एमालेको लुम्बिनी अधिवेशन : को-को छन् अध्यक्षका दाबेदार ? – Nepal Press

एमालेको लुम्बिनी अधिवेशन : को-को छन् अध्यक्षका दाबेदार ?

रुपन्देही । नेकपा एमालेको पहिलो प्रदेश अधिवेशन र पार्टी पदाधिकारीमा यहाँबाट प्रभावशाली नेताहरू रहेकाले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको आगामी नेतृत्व सबैको चासोको रूपमा रहेको छ ।

पहिले प्रदेशको नेतृत्व धेरैको चासोमा नपरेपनि प्रदेश अध्यक्षलाई पोलिटब्युरो तहको मान्यता दिने पार्टीको निर्णयपछि यसअघि केन्द्रीय कमिटीमा पुगेका नेताहरूले समेत प्रदेश नेतृत्वमा चासो राखेका छन् ।

भदौ १६ र १७ गते बुटवल १० रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदै छ । अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरू आउने निश्चित भइसकेको छ ।

सबै प्रदेशमा पार्टी बलियो रहेको हिसाबले पनि यहाँको नेतृत्वप्रति नेताहरूको चासो बढेको हो । मंसिर ४ को निर्वाचनमा एमालेविरुद्धको बलियो गठबन्धन हुँदा पनि संघीय तथा प्रदेशमा एमाले पहिलो दल बनेकाले नेतृत्वको ध्यान बढेको हो ।

लुम्बिनीबाट पार्टी पदाधिकारीमा रहेका नेताहरू उपाध्यक्षहरू युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, (निलम्बित टोपबहादुर रायमाझी) सहित पोलिटब्युरो सदस्यहरू लीला गिरी, खिमलाल भट्टराई, सूर्य थापा, ठाकुर गैरेलगायतका नेताहरू आफू निकटका नेताहरू नेतृत्वमा आओस् भन्ने चाहन्छन् ।

अहिले पार्टी सचिव तथा प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेकी पद्मा अर्यालको समेत यसमा विशेष भूमिका रहने छ । साबिक लुम्बिनीका ६, राप्तीका ४ र भेरीका २ गरी १२ जिल्ला रहेको यो प्रदेशमा भूगोल तथा जिल्ला समेटेर नेतृत्व छनौट गर्न नेतृत्वलाई चुनौती छ । अहिले ६ सयभन्दा बढी प्रदेश कमिटीमा रहेकाले पनि अबको कमिटी २५० मा सबैको भावना समेट्न अर्को चुनौती नेतृत्वलाई छ ।

भदौ १६ र १७ गते सबैभन्दा पहिले प्रदेश अधिवेशनको मिति तोकेर तयारी गरिरहेको लुम्बिनीमा विभिन्न उपसमिति तयार गरी जिम्मेवारी बाँडफाँड, प्रतिनिधि छनौटको मापदण्ड तयार गरिसकिएको छ । प्रदेशमा कुल ८२ हजार ३ सय ३ पार्टी सदस्य रहेकोमा अधिवेशनका लागि १ हजारभन्दा बढी प्रतिनिधि छनोट हुनेछन् । प्रदेशका १ सय ९ वटै पालिकाबाट भदौ ९ गते एकै पटक प्रतिनिधि छनोट गरिने गर्ने तयारी छ ।

नयाँ नेतृत्वको लागि अहिलेका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल बलियो उम्मेदवार हुन् । उनी निकट नेताहरूले पार्टी अध्यक्ष केपी ओलीकै चाहनामा उनी नेतृत्वमा आएको र मंसिरको निर्वाचनमा पनि यही दोहोरिने योजनाअनुरूप उम्मेदवार अरूलाई दिलाएको बताएका छन् ।

सादगी नेताको पहिचान बनाएका उनी पुराना अनुभवी र सबै तहका नेताहरूलाई मिलाएर राख्न सक्ने तथा सबै तहका कार्यकर्तासँग सहजै घुलमिल हुनसक्ने पहिचान बनाएका छन् ।

नेता कँडेलले पहिले पार्टी नेतृत्वले नै जिम्मेवारी दिएर पठाएको र अब अधिवेशनबाट छानिने इच्छा भएको नेपाल प्रेसलाई बताए ।

‘नेतृत्वले नै यो जिम्मेवारीमा बसेर काम गर्न दिएको जिम्मेवारी पूरा गरेको हुँ, अब प्रतिनिधि छनौट नहुँदै प्रचार गर्ने विषय भएन तर पहिले नयाँ संरचनामा जिम्मेवारी तोकिएको थियो, अब पहिलो अधिवेशन गराउने दायित्व पनि भएको र अधिवेशनबाट अगाडि बढ्ने चाहना पनि हो तर नेतृत्व र प्रतिनिधिको जे सुझाव आउँछ त्यही अनुसार अगाडि बढ्ने हो, दिएको र पाएको जिम्मेवारी पूरा गर्ने मेरो दायित्व हो’ कँडेलले भने ।

पार्टीको प्रदेश नेतृत्वमा केन्द्रीय सदस्य तथा प्रदेशका पूर्व मन्त्री प्यूठानका हरि रिजाल, केन्द्रीय सदस्यहरू बर्दियाका लक्ष्मण ज्ञवाली र भीम केसी, पार्टी प्रदेश सचिव दाङका लक्ष्मण आचार्यले आकांक्षा राखेर आफू निकटका नेताहरूसँग छलफल अगाडि बढाएका छन् ।

अहिले उपाध्यक्ष रहेका रुपन्देहीका भोजप्रसाद श्रेष्ठ अध्यक्ष हुन चाहे पनि पार्टी केन्द्रले जिल्ला र प्रदेशको अध्यक्ष तथा सचिवमा जनप्रतिनिधि रहन नपाइने नियम बनाएपछि संकट परेको छ । उनी लुम्बिनी प्रदेश सभा सदस्य हुन् । श्रेष्ठले अहिले नै पार्टीको जिम्मेवारीका विषयमा कुनै योजना नबनेको र केही दिनमा सल्लाह गरेर जानकारी दिने बताए ।

अहिलेका सचिव लक्ष्मण आचार्य नेतृत्वको आकांक्षी भए पनि अहिलेका अध्यक्ष कँडेल दोहोरिए सहज छाड्ने र अन्य उम्मेदवार भए अगाडि बढ्ने संकेत गरेका छन् । अहिलेका अध्यक्ष र अन्य केन्द्रीय सदस्यहरूको दाबेदारी भए उनी त्यसै ओझेलमा पर्नेछन् ।

प्यूठानका हरि रिजालले अहिले प्रदेश अध्यक्ष पोलिटब्युरो तहमा लैजाने नियम आएपछि केन्द्रीय सदस्यहरूबाटै नेतृत्व हुनुपर्दछ भन्ने साथीहरूको प्रस्ताव आएको नेपाल प्रेसलाई बताए ।

‘पहिले यस्तो नियम थिएन र हामीले चासो राखिएन, अहिले पोलिटब्यूरो तहको बनाएपछि अब नेतृत्वमा सन्तुलन मिलाउन केन्द्रीय सदस्य मध्येबाट जानुपर्छ भन्ने कुराकानी भइरहेको छ, त्यसमाथि म अहिले जनप्रतिनिधि पनि नभएकाले साथीहरूले प्रस्ताव राख्नु स्वभाविक होला, अब कसरी जाने भन्ने छलफल हुँदै छ’ उनले भने ।

उनले केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली, भीम केसी लगायतका साथीहरूसँग यो विषयमा छलफल भए पनि को जाने भन्ने विषयमा अझै अगाडि छलफल नभएको जनाए । रिजाल यसअघि प्रदेशसभा सदस्य हुन् भने मंसिर ४ को निर्वाचनमा पराजित भएका हुन् ।

एमालेका प्रदेश नेताहरूका अनुसार पदाधिकारीमा धेरै आकांक्षी रहेकाले पनि नेतृत्व छान्न त्यति सहज छैन ।

नेतृत्वको लागि यहाँबाट केन्द्रको मुख्य जिम्मेवारीमा रहेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलमध्ये एक जनाको साथ र अन्य नेताहरूको समर्थन चाहिने धेरैको बुझाई छ । अहिले आकांक्षीमा बलियो रहेका कँडेल दुवै नेताहरूसँग नजिकै देखिए पनि केहीले पौडेल निकट मानेका छन् भने रिजाललाई पोखरेल निकट मानेका छन् ।

एमाले पोलिटब्युरो सदस्य तथा पूर्व प्रदेश अध्यक्ष लीला गिरीले प्रतिनिधि छनौटपछि आकांक्षीहरुका बीचमा बसेर नेतृत्वको विषय अगाडि बढाइने जानकारी दिएका छन् । नेता कँडेल यसअघि आफूले नेतृत्व पाउने बेलामै आफू इच्छुक नहुँदा धेरै नेताहरूले पठाएकाले र केही दिनअघि अध्यक्ष ओलीसमक्ष भेटेर आएकाले पुनः नेतृत्व पाउने आशावादीमा रहेको उनी निकट नेताहरू बताउँछन् ।

नेकपा एमालेका सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले पहिलो प्रदेश अधिवेशन भएकाले लुम्बिनीमा सबैको चासो गएको बताइन् । उनले तयारीका लागि विभिन्न उपसमितिको जिम्मेवारी विभाजन र प्रतिनिधि छनौटको मापदण्ड तयार गर्ने काम सकिएको बताउँदै प्रतिनिधि छनौटसँगै आकांक्षीहरु सँग बसेर नयाँ नेतृत्वको विषयमा अगाडि बढ्ने बताइन् ।

‘अहिलेसम्म नेतृत्वको विषयले प्रवेश पाएको छैन, अन्य तयारीका काम भएका छन्, यति ठूलो पार्टीमा आकांक्षा राख्नु स्वभाविक हो, सकेसम्म सहमतिमै टुंगो लगाउने प्रयास हुन्छ, आकांक्षीहरुसँग बसेपछि बल्ल कसरी अगाडि बढ्ने भनेर तयारी गर्ने हो, अहिले त्यो चरणमा पुगेका छैनौ, पार्टीमा कुनै समूह, गुट छैन’ उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर