गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएको समस्या चाँडै समाधान गर्न अघि बढ्छौं: रक्षामन्त्री (भिडिओ) – Nepal Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएको समस्या चाँडै समाधान गर्न अघि बढ्छौं: रक्षामन्त्री (भिडिओ)

रूपन्देही ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएको समस्या चाँडै समाधान गर्ने बाटोमा अघि बढ्ने बताएका छन् ।

उनले अहिलेको स्रोतसाधनले भ्याएसम्म र ऐन कानूनले अफठ्यारो नपार्ने अवस्थामा चाँडै नै समाधान गर्ने बाटोमा अघि बढ्ने बताए ।नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा भएको प्रतिनिधि सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले विमानस्थलबारे उचित तरिकाले टुंगो लगाउन नसकिएको बताए ।

उनले पर्यटकको ओइरो लाग्ने, आर्थिक उन्नतिको आधार बन्ने ठूलो सपना देखेर नै विमानस्थलमा धेरै ठूलो लगानी भएको बताए । उनले भने, ‘यस विषयमा सम्माननीय प्रधानमन्त्रीसँग पनि कुराकानी गर्नेछु । काठमाडौंमा पनि पटकपटक यसबारे कुरा उठ्ने गरेको छ । यसबारे सरकार र पार्टी केन्द्रको पनि नेताहरुले गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।’

मुलुकको अर्थतन्त्रले अनुमति दिन नसक्ने कुराबाहेक संघीय शिक्षा ऐन, संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन सबै अगाडि बढ्ने र चाँडै नै संसद्मा दर्ता गर्ने प्रक्रियामा रहेको बताए ।

उपमहानमन्त्री खड्काले ऐन बन्न ढिला भएका कारण प्रदेश र स्थानीय तहको काममा पनि समस्या आएको सबैलाई जानकारी भएकै विषय भएको बताए । उनले शिक्षक महासंघ, प्याब्सन, विद्यालय व्यवस्थापन समिति लगायत क्षेत्रहरुको समस्याको सम्बोधन हुने गरी काम अघि बढेको बताए ।

उनले भारतबाट १ सय रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याउँदा जनताले विभिन्न दुःखकष्ट भोग्नुपरेको कुरा उठेको बताए । उनले यो समस्याको सम्बोधन भएको आफ्नो बुझाइ रहेको तर सम्बोधन नभएकाले यसबारेमा गम्भिरतापूर्वक लिइ सम्बोधन गर्नेतर्फ अघि बढ्ने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति समेत रहेका खड्काले कांग्रेस जनताको सुख र दुःख दुवैमा साथी रहेको बताए । उपसभापति खड्काले भने, ‘जिम्मेवारीमा रहेका नेताहरुसँग जनताको गुनासो छ । आफूलाई सुधार्ने र पार्टीलाई सुधार्ने अहिलेको समयको माग हो । ती गुनासोको सम्बोधन हुनेबित्तिकै हामीसँग अलग भएका जनता कांग्रेससँग जोडिन्छन् र विश्वासको वातावरण बनेपछि छाएको निराशा आशामा बदलिन्छ र हामीले परिणाम दिन सक्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर