काठमाडौंमा देउडा साँझको तयारी पूरा, पूर्व प्रधानमन्त्रीले उद्घाटन गर्ने – Nepal Press

काठमाडौंमा देउडा साँझको तयारी पूरा, पूर्व प्रधानमन्त्रीले उद्घाटन गर्ने

कैलाली । सुदूरपश्चिमको कला संस्कृति संरक्षण र प्रचार प्रसारका लागि काठमाडौंमा देउडा सांस्कृतिक साँझको आयोजना गरिएको छ ।

आगामी सोमबार कमलादी स्थित प्रज्ञा भवनमा आयोजना हुने स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ २०८० को तयारी पुरा भइसकेको सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले जानकारी दिए ।

सोमबार दिउँसो ३ बजे देउडा सांस्कृतिक साँझको पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको छ । काठमाडौँमा पहिलो पटक सांस्कृतिक समाज नेपालले सुदूरपश्चिम प्रदेशको कला संस्कृति जर्गेना गर्ने उद्देश्यले स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ आयोजना गरेको हो ।

‘नेपालीहरूको गौरवपूर्ण शान, कला र संस्कृति हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ मौलिक कला र संस्कृतिको संरक्षण एवम् सम्बद्धन गर्ने उद्देश्य रहेको अध्यक्ष अवस्थीले बताए ।

कार्यक्रममा मौलिक कला संस्कृतिलाई बचाइराख्ने र चिनाइराख्ने विशिष्ट व्यक्तिहरूलाई अभिनन्दन गरिने छ । लोकप्रिय गायक नन्दकृष्ण जोशी, यज्ञराज उपाध्याय, टीका पुन ,सुरेश शाही, महेश कुमार औजी लगायत दर्जनौ कलाकारहरूका मौलिक प्रस्तुतिका साथै प्रख्यात पुतला नाच , छलिया नाच , ठाडो नाच लगाएतका थुप्रै नाचहरू समेत प्रस्तुत गरिने जनाइएको छ ।

कार्यक्रमले देउडा संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन टेवा पुग्ने विश्वास गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *