अब छिट्टै देवानी संहिता संशोधन प्रक्रियामा जान्छ : न्यायाधीश भट्टराई – Nepal Press

अब छिट्टै देवानी संहिता संशोधन प्रक्रियामा जान्छ : न्यायाधीश भट्टराई

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्द मोहन भट्टराईले सर्वोच्च अदालतमा धेरै चुनौतीहरु रहेको बताएका छन् । कानूनी सहायता तथा परामर्श केन्द्रको ३७ औं वार्षिकोत्सव समारोह कार्यक्रममा न्यायाधीश भट्टराईले महिला र बालमैत्री कानूनको आवश्यकता रहेको बताउँदै मुलुकी देवानी संहिता, २०७४ संशोधन गर्नुपर्ने बताए ।

उनले अबको ५/६ महिनापछि देवानी संहिता संशोधनको प्रक्रियामा जाने विश्वास व्यक्त गरेका छन् ।

महिला तथा बालबालिकाको न्यायमा पहुँच अभिवृद्धि, महिला सशक्तिकरण, नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि क्रियाशिल संस्था कानूनी सहायता तथा परामर्श केन्द्र (ल्याक)ले ३७ औं वार्षिकोत्सव मनाएको हो ।

न्यायाधीश डा. भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ल्याक लेन्स पुस्तक विमोचन गरिएको छ । पुस्तकमा ल्याक महिला हक हेल्पलाइनमा दर्ता भएका घटना र लेखहरु समेटिएको छ ।

कार्यक्रमको उद्घाटन न्यायाधीश डा. भट्टराई र कानूनी सहायता तथा परामर्श केन्द« (ल्याक)का अध्यक्ष अनिता न्यौपाने थपलियाले मैनबत्ती प्रज्वलन गरेर गरेका थिए ।

कार्यक्रममा कानूनी सहायता तथा परामर्श केन्द्र (ल्याक)की अध्यक्ष अनिता न्यौपाने थपलियाले संस्थाका संस्थापक अध्यक्ष स्व. प्रा. डा. शान्ता थपलियालाई स्मरण गर्दै महिलामाथि गरिएको विभेदपूर्ण व्यवहार, सबै प्रकारका हिंसाविरुद्ध आवाज उठाउने, महिलाको नेतृत्व विकास र न्यायमा पहुँच सजिलै पुगोस् भन्ने उद्देश्यका साथ काम गरिरहेको बताइन् ।

स्थापनाकालदेखि नै महिलाको न्यायमा सहज पहुँच अभिवृद्धिका लागि निःशुल्क कानूनी सहायता लगायतको कार्यक्रम गर्दै आएको बताउँदै महिलाको हक अधिकार र हिंसा नियन्त्रणका लागि बनेका कानुनी व्यवस्थाहरुको बारेमा कम जानकारी हँुदा न्यायमा पहुँच पुग्न नसकेको जिकीर गरेकी छन् ।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिलि थापाले नेपालको हरेक संयन्त्रमा पितृसत्तात्मक सोच रहेकै कारण महिला हिंसा न्यूनीकरण गर्न चुनौती थपिएको बताइन् ।

थापाले महिला आफ्नो अधिकारका निम्ती कानुनी सहायताका लागि लड्दा ठूलो खर्च लाग्ने हुनाले न्यायीक रुपमा अगाडि आउन चुनौती भएको भन्दै ल्याक जस्तो संस्था अरु पनि आउनु पर्ने बताइन् ।

न्यायिक लडाईं लड्नका लागि सबैलाई सहयोग पुगोस् भनेर आफूले अब छिट्टै पोलेसी लेभलमा काम गर्ने दृढता व्यक्त गरेकी छन् ।

महिला गैर सरकारी संस्था महासंघकी उपाध्यक्ष तुलसा लता अमात्यले २०५२ सालदेखि नै पैतृक सम्पत्ति पाउनुपर्ने आन्दोलन गरेको भए पनि आज सम्म पनि उहि हालत भएको बताइन् ।

महिला र पुरुषको समान सहभागिताका लागि अब युवापुस्ता जागरुक हुनुपर्ने बताउँदै पुस्तान्तरण, हस्तान्तरण र रुपान्तरणको अभियान चलाउनु पर्ने बताइन् ।

कार्यक्रममा विगत २३ वर्षदेखि संस्थामा कार्यरत कार्यलय सहायक हरीमाया थापा, वरिष्ठ लेखापाल सिता वस्याल र लेखा अधिकृत सगुन सत्याल उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *