सियारी गाउँपालिकाका किसानले पाउँछन् प्रतिफलमा आधारित अनुदान – Nepal Press

सियारी गाउँपालिकाका किसानले पाउँछन् प्रतिफलमा आधारित अनुदान

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले प्रतिफलमा आधारित अनुदान दिएपछि किसानहरु प्रोत्साहित भएका छन् ।

गाउँपालिकाले स्थानीयस्तरमा रहेका प्रायः सबै क्षेत्रका किसानहरुलाई उत्पादनमा आधारित भएर अनुदान सुरु गरेको छ । कृषिका माध्ययबाट सियारीको समग्र विकास गर्दै समृद्धि हासिल गर्ने उद्देश्यअनुरुप कृषकहरुलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकता दिँदै आएको पालिकाको भनाइ छ ।

सियारीले आर्थिक वर्ष २०७९/०८० मा साढे ३ करोड बढी रकम विभिन्न क्षेत्रका किसानलाई अनुदानवापत दिइएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

अध्यक्ष घिमिरेले सियारीमा रहेका किसानहरुको हितका लागि यस वर्ष पनि अनुदानका कार्यक्रमलाई निरन्तरता दिइएको बताए । उनले किसानको विकास नहँुदासम्म मुलुक आर्थिक रुपमा सबल र सक्षम हुन नसक्ने उल्लेख गर्दै किसान र कृषि क्षेत्रको समग्र विकासका लागि तीनै तहका सरकारले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

अध्यक्ष घिमिरेले प्रतिफलमा आधारित अनुदान कार्यक्रम लागू गर्नेमा सियारी लुम्बिनी प्रदेशमै उत्कृष्ट र पहिलो भएको दाबी गर्दै खाली जग्गा नराख्न सबै कृषकलाई आग्रह गरे ।

सियारीले १० कठ्ठासम्ममा माछापालक कृषकका लागि प्रतिकेजी ५ रुपैयाँ अनुदान दिँदै आएको छ । गत आर्थिक वर्षमा मात्रै ३७५ जना किसानलाई २३ लाख २५ हजार ५७७ रुपैयाँ अनुदानवापतको रकम दिइएको आर्थिक विकास शाखा प्रमुख गणेशप्रसाद खनालले जानकारी दिए ।

गाउँपालिकाले सियारीभित्रका २ हजार ३१७ दशमलव ९३ कठ्ठामा ६ वटा पोखरीमा माछापालन गर्ने २३ किसानलाई अनुदानवापतको रकम प्रदान गरेको शाखा प्रमुख खनालले जानकारी दिए । यी पोखरीबाट ४ लाख ६५ हजार ११५ केजी माछा उत्पादन भएको उनले बताए ।

त्यसैगरी प्रतिफलमा आधारित अनुदान कार्यक्रमअन्तर्गत दूध उत्पादन कार्यक्रमअन्तर्गत आर्थिक वर्षको जेठ महिनासम्ममा १५ लाख ९१ हजार ५३५ लिटरको ३९ लाख ७८ हजार ८४० रुपैयाँ अनुदानवापतको रकम उपलब्ध गराइएको छ ।

त्यसैगरी गाउँपालिकाभित्रका कृषकको हितका लागि भैरहवा लुम्बिनी भूमिगत जल परियोजनाबाट सिंचाइ गर्ने कृषकहरुलाई सिंचाइमा ५० प्रतिशत अनुदान कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षको जेठ महिनासम्म १७ लाख ३८ हजार ४७९ रुपैयाँ अनुदानवापतको रकम प्रदान गरेको सियारी गाउँपालिकाले जनाएको छ ।

निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रमअन्तर्गत जेठ महिनासम्म ३ हजार ७१२ वटा गाईभैंसीलाई निःशुल्क कृत्रिम गर्भाधान गरिएको र त्यसवापत कुल १२ लाख ९९ हजार २ सय रुपैयाँ अनुदानवापत किसानको खातामा रकम पठाइएको आर्थिक प्रशासन शाखा प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिए ।

गाउँपालिकाले कृषकहरुलाई घाँस खेतीमा प्रोत्साहन गर्न भन्दै घाँसको बीउमा ५० प्रतिशत अनुदान दिएको छ । पालिकाले असारसम्ममा १ हजार ६३४ हेक्टरमा खेती गर्ने ३८८ कृषकलाई ६ लाख २४ हजार १७५ रुपैयाँ अनुदानवापतको रकम हस्तान्तरण गरेको छ ।

गाउँपालिकाअन्तर्गत रहेका कृषकहरुको तथ्यांक व्यवस्थित गर्न गाउँपालिकाले पालिकाभित्रका कृषकरुलाई कृषक कार्ड वितरणलाई प्रभावकारी बनाइएको आर्थिक विकास शाखा प्रमुख खनालले बताए ।

गाउँपालिकाले यान्त्रीकरणमा पनि सहयोग गर्दै आएको छ । ६७ जना कृषकलाई ११ लाख ३३ हजार १ सय रुपैयाँ अनुदान रकम प्रदान गरिएको छ । त्यस्तै गहुँको बीउ खरिद गर्न ४० लाख, मकैमा साढे ७ लाख, तोरीमा १२ लाख, चैते धान खेतीलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्न उन्नन बीउ खरिदका लागि २५ लाख रुपैयाँ अनुदानवापत कृषकको खातामा रकम पठाइएको उनले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर