भरतपुर अस्पतालका ४ सय जनरल वार्ड नि:शुल्क – Nepal Press

भरतपुर अस्पतालका ४ सय जनरल वार्ड नि:शुल्क

चितवन । गरिब विपन्नहरूले उपचार गर्न आउँदा ल्याएको सिफारिस पत्र सामाजिक सञ्जालबाट सार्वजनिक गरेर उपहास गरेको भरतपुर अस्पतालले सबै जनरल वार्ड नि:शुल्क गर्नुपर्ने भएको छ ।

विपन्नलाई उपचार गर्दा दोब्बर खर्च आएको भन्दै नाम र तस्वीरसमेत सार्वजनिक गरेको केही दिन बित्न नपाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै निर्देशन दिएर अस्पतालको जनरल वार्ड नि:शुल्क बनाउन भनेको हो ।

अस्पतालले आज एक विज्ञप्ति जारी गरी अन्तरंग विभागको ४ सय बेड नि:शुल्क कायम गरिएको जनाएको छ । अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस अस्पतालको अन्तरंग सेवाको ४ सय बेड नि:शुल्क कायम गरिएको छ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार नि:शुल्क कायम गरिएको हो ।

भरतपुर अस्पताल नेपाल सरकारको केन्द्रीय रिफरल अस्पताल हो । यहाँ चितवन र यसआसपासका १३ बढी जिल्लाका बिरामी उपचार गर्न आउँछन् । अस्पताको रेकर्ड अनुसार यहाँ दिनमा दुई हजार ५ सय जनासम्म ओपीडीमा उपचार गर्न आउने बिरामी हुन्छन् ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालमा कुल ६ सय वार्ड छन् । ४ सय सुत्केरीसहितको जनरल वार्ड हो भने बाँकी दुई सय आईसीयू, एनआईसीयू, क्याबिन, स्पाइनल, न्यूरोसर्जरी, अर्थोपेडिक्स लगायतका वार्ड छन् । ति वार्डहरईमा पनि न्यूनतम शुल्क निर्धारण गरिएको अस्पतालले जनाएको छ ।

अहिले भरतपुर अस्पतालले जनरल वार्डमा एक सय रूपैयाँ प्रतिदिन शुल्क लिँदै आएको थियो । भने, क्रिटिकल केयरका बेडहरुमा अधिकतम दुई हजार रूपैयाँसम्म शुल्क रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए । ओपीडी टिकट भने यसअघि नै नि:शुल्क वितरण हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर