लम्पीस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन सक्दैनौंः कृषिमन्त्री (भिडिओ) – Nepal Press

लम्पीस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन सक्दैनौंः कृषिमन्त्री (भिडिओ)

काठमाडाैं ।  कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पीस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको क्षतिपूर्ति दिन नसकिने बताएका हुन् ।

उनले लम्पिस्किन रोग लागेर पशुहरुको मृत्यु भएपश्चात किसानहरुलाई ठूलो क्षति भएपनि त्यसको सम्पूर्ण क्षतिपूर्ति दिनभने नसकिने बताए । यद्यपी सरकारको तर्फबाट किसानहरुलाई राहत दिने गरी कार्यविधि बनिरहेको उनको भनाइ छ ।

कार्यविधि पास हुने बित्तिकै राहत उपलब्ध गराउने कृषिमन्त्रीको भनाई छ । लम्पी स्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशुु संक्रमित भएको छ । चैतदेखि हालसम्म ४७ हजार ६४९ पशुको मृत्यु भएको जानकारी दिँदै एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित छन् ।

मन्त्री भुसालले भने, ‘लम्पी स्किनबिरुद्ध भ्याक्सिन तान्जानीया, टर्की र जोर्डनबाट आयातको काम पनि गर्‍यौं । अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएको छ । ६ लाख ८६ हजार चार सय ५० पशुलाई भ्याक्सिन लगाइएको छ । लम्पी स्किन रोग लागेर पशुहरुको मृत्यु भयो । र, किसानहरुलाई ठूलो क्षति भयो । क्षति पूर्ति नै त गर्न सक्दैनौं होला । अरु अरु सन्दर्भमा पनि क्षतिपुूर्ति नै भनेर गर्न सकेका छैनौँ । राहत कमसेकम सरकारको तर्फबाट दिनुपर्छ भन्ने हिसावले प्रधानमन्त्री ज्युकै उपस्थितिमा बैठक बसेर आधार, मापदण्ड र कार्यविधि लगायतका प्रकृयालाई अगाडी बढाएका छौं । कार्यविधि पास हुने बित्तिकै राहत दिन्छौँ । यो रोग बिरुद्धको खोप उत्पादनका लागि चाहिने भाइरस विदेशबाट झिकाउनुपर्छ भन्नेकुरा अगाडी बढाएका छौं ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *