माओवादी संसद बिरोधी पार्टी हो, कांग्रेस कम्युनिष्टको पुच्छर बनेको छः सांसद सिंह – Nepal Press

माओवादी संसद बिरोधी पार्टी हो, कांग्रेस कम्युनिष्टको पुच्छर बनेको छः सांसद सिंह

काठमाडौं । प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति नेतृत्व चयन नगरेको आरोप लगाएका छन् ।

बिहीवार सिंहदरबारमा सञ्चराकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप लगाए । उनले ८ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन नसक्नुले सरकार जनताप्रति उत्तरदायी नभएको पुष्टि हुने बताए ।

उनले सत्ता पक्ष र विपक्षको लडाईंका कारण लोकतन्त्र रहन्छ की रहँदैन भन्ने शंका उब्जिएको बताए । सांसद सिंहले अहिले सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसदलाई बन्धक बनाएको आरोप लगाए । अहिले सरकारमा पनि कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षमा पनि कम्युनिष्ट पार्टी भएको भन्दै कम्युनिष्टहरुले संसदीय व्यवस्थामा विश्वास नगर्ने बताए ।

उनले का‌ंग्रेस अहिले कम्युनिष्टहरुको पुच्छर भएको टिप्पणी गरे । उनले नेकपा (माओवादी केन्द्र) शुरुदेखि नै संसद बिरोधी पार्टी भएको र स्वार्थका लागि सत्ताको प्रयोग गरिरहेको पुष्टि भइरहेको बताए ।

उनले भने,‘सरकारले समिति सभापति चयन गर्न नै चाहेको छैन, खासकुरा त्यो हो । ८ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन सकेको छैन । समिति गठन नभएपछि सरकारलाई गाह्रो हुन्छ, सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति चयन हुन दिइरहेको छैन । सत्ता पक्ष र विपक्षको लडाईंका कारण लोकतन्त्र रहन्छ की रहँदैन भन्ने शंका छ । अहिले संसद चल्न नसक्नु भनेको दुवै पक्ष मिलेका छन्, तँ कुटेजस्तै गर् म रोएजस्तै गर्छु झैँ गरेर सत्ता पक्ष र प्रतिपक्षले संसदलाई बन्धक बनाएका छन् । किनभने उहाँहरुलाई संसदीय व्यवस्थामा विश्वास नै छैन । अहिले सत्ता पक्ष पनि कम्युनिष्ट हो, प्रमुख प्रतिपक्ष पनि कम्युनिष्ट हो, काँग्रेस त पुच्छर हो त्यहाँ । माओवादी शुरुदेखि संसद बिरोधी पार्टी हो । कुनैपनि कम्युनिष्टमा संसदीय व्यवस्थामा हुँदैन । कम्युनिष्ट प्रणालीमा संसद हुँदैन ।’

सांसद सिंहले कम्युनिष्टहरुलाई संसदीय व्यवस्थामा विश्वास नै नरहेको जिकिर गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर