बीमा कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न दिने प्राधिकरणको निर्णय, कुनले कति पाउँछन् ? – Nepal Press

बीमा कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न दिने प्राधिकरणको निर्णय, कुनले कति पाउँछन् ?

काठमाडौं । बीमा प्राधिकरणले केही बीमा कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न दिने निर्णय गरेको छ । प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले मर्जरमा गएर पनि पूँजी वृद्धि गर्न नसकेका कम्पनीलाई हकप्रद शेयर जारी गर्न दिने निर्णय भएको नेपाल प्रेसलाई जानकारी दिए ।

निर्जीवन बीमातर्फ पूँजी नपुगेका ५ कम्पनीले हकप्रद शेयर जारी गर्न पाउँछन् । हिमालयन एभरेष्ट इन्सुरेन्स, नेको इन्सुरेन्स, युनाइटेड अजोड इन्सुरेन्स, शिखर इन्सुरेन्स, सानिमा जिआइसी इन्सुरेन्सले अब हकप्रद निष्काशन गर्न पाउनेछन् ।

जीवन बीमातर्फ सूर्यज्योति लाइफ इन्सुरेन्स, सानिमा रिलायबल लाइफ इन्सुरेन्सले हकप्रैद सेयर जारी गर्न पाउनेछन् । प्राधिकरणले मर्जरमा गएर पनि पूँजी नपुगेका, थोरै मात्र पूँजी अपुग भएका कम्पनीले हकप्रद शेयर निष्काशन गर्न पाउने बताएको छ । उनीहरुले अपुग पूँजी बराबरको हकप्रद जारी गर्न पाउनेछन् ।

प्राधिकरणले जीवन बीमालाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पूँजी तोकेको छ । यसअघि जीवन बीमाको २ अर्ब र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पूँजी हुने व्यवस्था थियो ।

प्राधिकरणले दुई पटकसम्म समय दिँदासमेत अधिकांश बीमा कम्पनीले पूँजी पुर्याउन नसकेपछि हकप्रद शेयर जारी गर्न दिने निर्णय गरेको हो । प्राधिकरणले २०७८ चैतमा बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी बढाउने निर्णय गरेको थियो ।

त्यसको लागि पहिलो पटक २०७९ चैत मसान्तसम्मको म्याद दिइएको थियो । तर, त्यस अवधिमा अधिकांश कम्पनीले तोकिएको चुक्ता पूँजी नपुर्याएपछि फेरि समय थप गरेर असार मसान्तसम्मको म्याद दिइएको थियो । तर, अझै पनि अधिकांश कम्पनीको चुक्ता पूँजी पुगेको छैन ।

नेपालमा पहिला २० निर्जीवन र १९ जीवन बीमा कम्पनी थिए । अहिले १४ जीवन बिमा र १४ निर्जीवन बीमा कम्पनी छन् । यस्तै, २ पुनर्बीमा र ४ वटा लघुबीमा कम्पनी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर