सन नेपाल लाइफ इन्सुरेन्सको आईपीओ खुल्यो, कम्पनीको वित्तीय अवस्था कस्तो छ ? – Nepal Press

सन नेपाल लाइफ इन्सुरेन्सको आईपीओ खुल्यो, कम्पनीको वित्तीय अवस्था कस्तो छ ?

काठमाडौँ । सन नेपाल लाइफ इन्सुरेन्सले आज (साउन ३२ गते बिहीबार) देखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो ।

यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गरेको हो । तर यसमध्ये १० प्रतिशत (९ लाख ६० हजार कित्ता) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ ।

५ प्रतिशत (४ लाख ८० हजार कित्ता) सेयर कर्मचारी र ५ प्रतिशत (४ लाख ८० हजार कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले यसमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई क्यापिटलले गरेको छ ।

कम्पनीको वित्तीय अवस्था कस्तो छ ?

सन नेपालको प्रतिसेयर आम्दानी यो वर्ष ३० रुपैयाँ माथि पुगेको अनुमान गरिएको छ । कम्पनीले सार्वजनिक गरेको विवरण पत्रमा प्रतिसेयर आम्दानी लगातार बढेको देखाइएको छ ।

प्रतिसेयर आम्दानी भनेको लगानीकर्ताको एक कित्ता सेयर बराबर हुने आम्दानी हो । यस कम्पनीको रजिष्ट्रर कार्यालय काठमाडौँ हो । असार मसान्तसम्म कम्पनीको २९ शाखा कार्यालय र १६१ शाखा कार्यालय रहेका छन् ।

अहिले कम्पनीको चुक्तापुँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । यो आइपिओ वितरणपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

रेटिङ एजेन्सी केयर नेपालले यस इन्सुरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको जनाउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर