कार्यकर्ताको गल्ती छोप्न गाउँपालिका अध्यक्षले कटाए प्रहरीको सुविधा – Nepal Press

कार्यकर्ताको गल्ती छोप्न गाउँपालिका अध्यक्षले कटाए प्रहरीको सुविधा

रूपन्देही । चेकजाँचको नाममा स्थानीयलाई दुःख दिएको भन्दै कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्षले प्रहरीलाई दिँदै आएको सहयोग बन्द गरेका छन् ।

सवारी चेकजाँचमा कडाइ गरी गाउँपालिका अध्यक्षका कार्यकर्तालाई जरिवाना गराएपछि गाउँपालिका र प्रहरीबीच विवाद चुलिएको थियो । सोही विवादपछि गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानले विज्ञप्ति नै जारी गरेर प्रहरी चेकजाँचको विरोध जनाएका छन् ।

स्थानीय प्रहरीले साउन २६ गते आइतबार जनप्रतिनिधि निकटका सवारी चालकलाई कारबाही गरी जरिवाना तिराएको थियो । त्यसपछि गाउँपालिका अध्यक्षले नियन्त्रणमा लिएका मोटरसाइकललाई तत्काल छोड्न भनेका थिए । प्रहरीले नमानेपछि गाउँपालिकाले प्रेस विज्ञप्ति निकालेर विरोध जनाएको हो ।

प्रहरीका अनुसार आइतबार राति अन्दाजी ८ बजे इलाका प्रहरी कार्यालय पकडीले चेकजाँच गर्ने क्रममा २ वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो । लु ४१ प ६९८९ नम्बरको मोटरसाइकल चालक महमद अजमल र लु ६२ प ६१०१ नम्बरको मोटरसाइकल चालक अब्दुलसहित अन्य मोटरसाइकल कागजातविना चलाएको पाइएपछि इप्रका र ट्राफिक प्रहरीको संयुक्त चेकजाँचमा रोकिएको थियो । दुबै चालकले लाइसेन्स र व्लुबुक घरमा छुटेको बताएपछि प्रहरीले शंकाको दायरामा राखेको थियो ।

चालकहरुले केहीबेर फोन गरेपछि मायादेवी गाउँपालिका अध्यक्ष मुसलमान, वडा नम्बर १ अध्यक्ष मोहम्मद इसवाक मुसलमान, वडा नम्बर ३ का अध्यक्ष शैलेन्द्रकुमार यादव, वडा नम्बर ४ का अस्फाक अहमद मुसलमान र वडा नम्बर ८ का अध्यक्ष मुस्ताक अहमद मुसलमानसहितको टोली चेकजाँच स्थल पुगेको थियो । उनीहरुले दुबै मोटरसाइकल छाड्न आग्रह गरेको प्रहरीले जनाएको छ ।

जनप्रतिनिधिले दबाब दिएपछि प्रहरीले कागजपत्र साथमा नभएको जनाउँदै ५०० रुपैयाँ जरिवाना तिराएको थियो । जरिवाना तिरेपछि प्रहरीले मोटरसाइकल छाडेको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीन घलेले सवारी चेकजाँच गर्दा जरिवाना लिएको र घटना सामान्य रहेको बताए ।

यता मायादेवी गाउँपालिका अध्यक्ष मुसलमानले चेकजाँचको नाममा दुधे बालक र महिलाहरुले सास्ती पाएको गुनासो आएको बताए । प्रहरी र जनप्रतिनिधिबीच राम्रो सम्बन्ध हुनुपर्नेमा स्थानीयलाई दुःख दिने काम भएको उनको भनाइ थियो ।

इप्रका प्रमुख प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीलाई कारबाही हुनुपर्ने अध्यक्ष मुसलमानको माग छ । गाउँपालिकाले इलाका प्रहरी कार्यालय पकडी मातहतको अस्थायी प्रहरी चौकी विजुवाको भवनको भाडा तिर्दै आएको थियो ।

सोमबार कार्यपालिकाको बैठक बसी प्रहरीलाई दिएको सेवासुविधा रोक्ने निर्णय गरेको जनाएको छ । प्रहरीको असहयोगको कारणले सेवा कटौती भएको अध्यक्ष मुसलमानले बताए ।

प्रहरीलाई उपलब्ध गराउने सेवा सुविधा रोक्ने विषयमा आफूलाई जानकारी नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवले बताए ।

विजुवा प्रहरी चौकीको भाडा पालिकाले व्यहोर्ने नभएपछि प्रहरी चौकी रहने नरहनेमा अन्योल भएको छ । इप्रकाले अस्थायी प्रहरी चौकी कायम राख्न स्थानीयसँग छलफल गरेको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।

स्थायी प्रहरी चौकीको लागि प्रहरी कार्यालयसँग बजेटको व्यवस्थापन नहुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर