विद्यालय पहिरोमा पुरियो, पठनपाठनमा समस्या – Nepal Press

विद्यालय पहिरोमा पुरियो, पठनपाठनमा समस्या

पर्वत । लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ ।

फलेवास नगरपालिका–२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयको दुई वटा भवन पहिरोले पुरिएका हुन् ।

विद्यालय रहेको स्थानभन्दा करिब ५० मिटरमाथि रहेको सडकबाट खसेको पहिरोले भवन पुरिएका हुन् । तीन कोठा पुरिए पनि आठवटा कोठामा जोखिमपूर्ण रूपमा पठनपाठन गराउने गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद शर्माले जानकारी दिए ।

पहिलो पटक गत असार १६ गते पहिरोले भवनमा क्षति गरेको थियो । सोही स्थानमा यही साउन २२ गतेपछि गएको पहिरोले थप क्षति गरेको छ । पहिरोले विद्यालयको आँगनसमेत पुरिँदै गएको छ ।

‘आठ कोठामा विद्यार्थी राख्न सकिने अवस्था छैन’, उनले भने । जोखिमकैबीच आधारभूत तहदेखि कक्षा आठसम्मको पठनपाठन भइरहेको छ । हाल विद्यालयमा दुई सय ४० विद्यार्थी अध्ययनरत छन् ।

‘जुनकुनै बेलामा पनि पहिरोले थप क्षति गर्न सक्ने अवस्था छ’, प्रअ शर्माले भने, ‘दुई तीनवटा कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउनु परिरहेको छ ।’

नौडाँडा–कार्कीनेटा–फलेवास–जैमुनी सडकको नवनिर्मित सडकको डिल भत्किएर तीनवटा कक्षाकोठामा क्षति भएको शिक्षक सन्तोष रिजालले बताए ।

विद्यालयका आठवटा कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई अस्थायी रूपमा एकै ठाउँमा राखेर अध्यापन गरिँदा उनीहरूको सिकाइ उपलब्धिमा असर पर्न थालेको छ । थापाठाना मावि फलेवास नगरपालिकामा नै धेरै विद्यार्थी भएको विद्यालय हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर