सुन प्रकरणमा जोडिएका चिनियाँलाई फलफूल व्यापारीका रुपमामात्र चिनेको महराको प्रष्टीकरण – Nepal Press

सुन प्रकरणमा जोडिएका चिनियाँलाई फलफूल व्यापारीका रुपमामात्र चिनेको महराको प्रष्टीकरण

'अनुसन्धानका लागि मलाई बोलाउनुस् भनेकै छु, तर बोलाउँदैनन् त के गर्नु ?'

रूपन्देही । नेकपा माओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा अनुसन्धान लागि आफू तयार भएको बताएका छन् ।

मंगलबार घोराहीमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताएका हुन् ।

‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बोलाउँदैनन् त के गर्नु ?’ उनले भने ।

उनले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रुपमामात्र चिनेको बताए । त्यसबाहेक उनलाई आफूले नचिनेको उनको भनाइ छ ।

महराले भने, ‘मेरी श्रीमतीलाई वाङले आमा भनेर सम्बोधन गर्थे, उनको मृत्युमा दुइ कार्टुन फलफूल लिएर भेट्न आएका थिए । यसलाई फलफूल व्यापारीको रुपमा चिनेको थिएँ, तर त्यसरी चिन्नु पनि अपराध हो त ? अब त कसैसँग फोटो खिचाउन पनि डर लाग्ने भइसक्यो ।

‘सुनको स को पनि कुरा भएको थिएन, मलाई के छ भनेर थाहा पनि भएन, मैले वाङ भन्ने मान्छेसँग फोन गरेकै छैन’, उनले भने ।

बरु वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताए । ‘सबैभन्दा पहिले वार्तामा आउनुपर्छ भन्ने मान्छे म हुँ, अनुसन्धानमा भाग्ने मान्छे होइन’, उनले भने ।

महराले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको बताउँदै सञ्चार माध्यममा गलत प्रचार भएको गुनासो गरे । उनले सुन तस्करीको भनेको टोलिफोन संवादका विषयमा कुनै पनि फोन संवाद नभएको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर