नेविसंघ काठमाडौंमा विवाद : मनीषद्वारा केन्द्रीय सदस्य अस्वीकार, दुजाङले हुकुमी शासन देखाएको आरोप
मनीषले गरे ५० सदस्यसमेतको कार्यसमिति विस्तार


काठमाडौं । नेपाली कांग्रेनिकट विद्यार्थी संगठन नेविसंघ काठमाडौंको अध्यक्ष पदलाई लिएर विवाद सिर्जना भएको छ । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अंशुल केसीलाई काठमाडौंको अध्यक्षमा मनोनीत गरेपछि संगठनमा विवाद मौलाएको हो ।
यसअघि काठमाडौं अध्यक्ष रहेका मनीष डंगोललाई हालै केन्द्रीय सदस्य मनोनीत गरिएको थियो । उनी माथिल्लो तहमा गएकाले अध्यक्ष रिक्त रहेको भन्दै अध्यक्ष दुजाङले साउन २५ गते अंशुललाई काठमाडौं अध्यक्षको जिम्मेवारी दिएका थिए ।
तर, मनीषले आफूसँग सल्लाह नगरी केन्द्रीय सदस्यमा मनोनीत गरेर भ्रम फैलाएको भन्दै अस्वीकार गरेका छन् । दुजाङले जिल्लामा अनावश्यक विवाद सिर्जना गरेको उनको गुनासो छ ।
‘काठमाडौं जिल्लाका सन्दर्भमा हिजोका दिनमा भएको राजनीतिक सहमतिलाई भंग गरेर हुकुमी शासनजस्तो गरेर म काठमाडौं जिल्लाको अध्यक्ष पदमा बहाल रहँदा रहँदै केन्द्रीय सदस्य पदमा सल्लाहबेगर मनोनीत गरेको भ्रमपूर्ण यथार्थलाई म अस्वीकार गर्दछु र केन्द्रीय सदस्यको जिम्मेवारीमा नरहेको तर नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष पदमा बहाल रहेको सबैलाई जानकारी गराउँदछु ।’
मनीषले ५० सदस्यीय कार्यसमिति विस्तारको घोषणासमेत गरेका छन् ।
दुजाङले गत फागुन २६ गते मनीषलाई काठमाडौंको जिल्ला अध्यक्ष मनोनीत गरेका थिए ।