सरकारको दोहोरो चरित्र : पीडितसँग कारबाही गर्ने सम्झौता, उपेन्द्र यादवसँग केही नगर्ने प्रतिबद्धता – Nepal Press
गौर हत्याकाण्ड

सरकारको दोहोरो चरित्र : पीडितसँग कारबाही गर्ने सम्झौता, उपेन्द्र यादवसँग केही नगर्ने प्रतिबद्धता

काठमाडौं । गत २३ साउनमा सरकारले गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग पाँच बुँदे सम्झौता गर्‍यो । उक्त सम्झौताको पहिलो बुँदा घटनाका दोषीहरूलाई तथ्य र प्रमाणका आधारमा कानूनी कारबाही गर्ने उल्लेख छ ।

सम्झौतापछि पीडितहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । तर, सरकारले भने सम्झौताको मसी सुक्न नपाउँदै भाका फेर्न थालेको छ । हिजो भएको गठबन्धन बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौर हत्याकाण्डमाथि कुनै पनि थप कदम नचाल्न अनौपचारिक सहमति जनाएका छन् ।

स्मरणीय के छ भने गौर हत्याकाण्डमा मारिएकाहरू माओवादीकै कार्यकर्ता थिए । उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जनअधिकार फोरमले भारतीयहरूसमेतको घुसपैठमा योजनाबद्ध रुपले २७ जना वाइसीएल कार्यकर्ताको नृशंस हत्या गरेका थिए । ५० जनाभन्दा बढी घाइते भएका थिए । उक्त घटनाका दोषीहरूमाथि आजका दिनसम्म कुनै पनि कारबाही भएको छैन ।

१७ वर्षसम्म पनि न्याय नपाएपछि गौर हत्याकाण्डका पीडितहरूले संघर्ष समिति गठन गरेर गत साउन १ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।

त्यसलाई सम्बोधन गर्दै गृह मन्त्रालयले उनीहरूसँग वार्ता गरी सम्झौता गरेको हो । सम्झौतामा गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई र संघर्ष समितिकी संयोजक रुपसागर देवी उपाध्यायले हस्ताक्षर गरेका छन् । तर, सरकारको दोहोरो चरित्रका कारण सम्झौता रद्दीको टोकरीमा फालिने अवस्था देखिएको छ ।

घटनाका प्रमुख योजनाकारका रूपमा हालको सत्ताधारी घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नै आरोपित छन् । उनीसमेत ६६ जनाविरुद्ध त्यतिबेलै किटानी जाहेरी परेको थियो । पछि सरकारले गठन गरेको न्यायिक जाँचबुझ आयोगले थप ६४ जनालाई दोषी किटान गरेपछि गौर हत्याकाण्डका अभियुक्त संख्या १३० पुग्यो । तर, राजनीतिक दबाब र प्रभावका कारण उनीहरू कसैमाथि पनि अनुसन्धान भएन ।

आफ्ना कार्यकर्ताको बर्बर हत्यामा सबैभन्दा बढी माओवादी संवेदनशील हुनुपर्ने हो । तर, माओवादी नेतृत्वले कहिल्यै पनि यो विषयलाई प्राथमिकतासाथ उठाएन । बरु पटक पटक उपेन्द्र यादव र प्रचण्डको सत्ता सहकार्य भयो । मृतकलाई शहिद घोषणा र परिवारलाई क्षतिपूर्ति दिनेबाहेक घटनाका दोषीले निरन्तर उन्मुक्ति पाइरहेका छन् ।

अचानक १७ वर्षपछि आएर गौर हत्याकाण्डको घाउ बल्झिएको छ । सरकारले पीडितसँग सम्झौता गरेपछि उपेन्द्र यादव तर्सिएका छन् । उनले हतार–हतार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर सरकार छोड्ने घुर्की लगाए । प्रचण्डले उनलाई थुमथुम्याउँदै कुनै थप छानबिन र कारबाही नहुने प्रतिबद्धता जनाएका छन् ।

हिजो बसेको गठबन्धन दलहरूको शीर्ष बैठकमा पनि गौर हत्याकाण्डका दोषीहरूमाथि कारबाहीको विषयमा चर्चा भएको थियो । जसपाले सरकार र संघर्ष समितिबीच भएको सम्झौतामा आपत्ति जनायो ।

त्यसपछि शीर्ष नेताहरुबीच उक्त घटनालाई लिएर यादवमाथि कारबाही हुन नहुनेमा एकमत भएको बताइएको छ । बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले घटनाका पीडितहरूले क्षतिपूर्ति पाइसकेकाले अब यो विषय थप अगाडि बढाउनु उचित नहुने समझदारी भएको बताए ।

सरकारको यस्तो दोहोरो रवैयाले ढिलै भए पनि न्याय पाउने आशामा रहेका पीडितहरू स्तब्ध बनेका छन् ।


प्रतिक्रिया

2 thoughts on “सरकारको दोहोरो चरित्र : पीडितसँग कारबाही गर्ने सम्झौता, उपेन्द्र यादवसँग केही नगर्ने प्रतिबद्धता

  1. वाह वाह क्या गजव छ प्रचड नीति आन्दोलनकारीसँग सम्झौता गर्दै, यो देसमा सरकार छ तपाइहरुको समस्या सरकारले सूनेको छ । साधान गर्छ भन्ने अनि जसको बारेमा छानबिन गर्ने भनेर सम्झौता गर्यो उसँग चाँही तपाई किन चिन्ता लिनु हुन्छ तपाईलाई कार्वाही गर्ने भनेर कसले भन्यो भन्ने तरिकाले केही नगर्ने दसदलको बैठकबाट निर्णय गर्ने वाह वाह क्या बात है भन्या जस्तै भएन त ?

  2. अस्थिर, बोलीको ठेगान नभएको, पिपलपाते, राष्ट्रिय स्वाभिमानसँग खेलवाड गर्नेले देशको नेतृत्व गरेपछि यस्तै हो । अझ कति झेल्नुपर्ने हो । देश चाहिँ बर्बाद बनाउने भयो चटकेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर