चितवनमा सधैँ रगत अभाव – Nepal Press

चितवनमा सधैँ रगत अभाव

चितवन । मेडिकल सिटीको रूपमा परिचित चितवनमा रगतको अभाव बढ्दै गएको छ । यहाँका अस्पतालहरूबाट रगतको माग बढ्दै गएको तर, रगत भने उपलब्ध गराउनै समस्या हुन थालेको छ ।

जिल्ला रेडक्रस सोसाइटी चितवनले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन थालेको हो । यहाँ दैनिक साढे दुई सयदेखि तीन सय युनिटसम्म रगतको आवश्यकता पर्छ । तर, दैनिक दुई सय युनिट मात्रै आपूर्ति हुँदै आएको छ ।

रक्तसञ्चार केन्द्रकी प्राविधिक विनीता गौतमले रगतको माग अनुसार आपूर्ति नहुँदा आकष्मिक आवश्यक हुने रगत नै जुटाउन समस्या हुन थालेको बताइन् ।

चितवनमा जिल्लामा संकलित रगतले अपुग हुन थालेपछि रक्तसञ्चार केन्द्रले नजिकका जिल्ला मकवानपुर, नवलपरासी लगायतमा समेत गएर रगत संकलन गर्ने गरेको उनले बताइन् ।

रगत दिने युवाहरू विदेशिने दर बढ्दो, रक्तदान गर्नुपर्छ भन्ने जनचेतना कम हुँदै गएको र मानिसहरूमा दीर्घकालीन रोग लाग्ने क्रम बढी भएपछि जिल्लाभित्र रगत संकलन बढ्न नसकेको केन्द्रका अर्का प्राविधिक विश्वनाथ सापकोटा बताउँछन् ।

चितवनमा आसपासका १३ भन्दा बढी जिल्लाको रेफरल अस्पतालको रूपमा रहेको भरतपुर केन्द्रीय अस्पताल, दुई वटा मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सँगै १५ शय्यादेखि सय शय्याभन्दा माथिका दुई दर्जन बढी हाराहारीमा अस्पताल छन् । तर, निकै कम मात्रै अस्पतालहरूले रगत संकलनको लागि पहल गर्ने गरेका छन् ।

पछिल्लो समय डेंगु लगायतका महामारीजन्य रोग पनि बढ्न थालेपछि रगतको अभाव पूर्ति गर्न भरतपुर महानगरले नै रक्तदानको जनचेतना जगाउन थालेको छ । महानगरले अगुवाइ गरेर जिल्लाका १५ वर्षमाथिका विद्यार्थीहरू अध्ययन गर्ने कलेजहरूमा चेतनामूलक कार्यक्रम गर्न थालेको छ ।

महानगरपालिकाका रोजगार संयोजक सन्देश वाग्लेले जिल्लामा बढ्दै गएको रगत अभाव घटाउन विद्यालय तहका युवा विद्यार्थीमा रक्तदानबारे चेतनामूलक अभियान नै सञ्चालन गरिएको बताए ।

उनका अनुसार पहिलो चरणमा जिल्लाका १० वटा कलेजहरूमा रक्तदानको आवश्यकता र फाइदाबारे जानकारी दिने अभियानमूलक कार्यक्रम गरिएको छ । उनले महानगरले यो कार्यक्रम महानगरभित्रका अन्य विद्यालयहरूसम्म पनि लैजाने तयारी गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर