सन्दीपको मुद्दामा बिहीबार पेशी, एसिया कपअघि फैसला नभए खेल्ने सम्भावना कम – Nepal Press

सन्दीपको मुद्दामा बिहीबार पेशी, एसिया कपअघि फैसला नभए खेल्ने सम्भावना कम

गौशाला २६ ले अदालतबाट लगिन् एक लाख क्षतिपूर्ति

काठमाडौं । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने साउन ३२ गतेको व्यग्र पर्खाइमा छन् । त्यस दिन नेपालको कुनै महत्त्वपूर्ण म्याच भएर होइन, आफ्नो मुद्दामाथि फैसला पेशी तोकिएकाले उनी त्यसको प्रतीक्षामा रहेका हुन् ।

फैसला चरणमा रहेको मुद्दाको पेसी विभिन्न बहानामा पटक–पटक धकेलिँदै आएको छ । सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दाको फैसला गर्न आदेश दिएको भए पनि जिल्ला अदालतका न्यायाधीशहरुले तदारुकता देखाएका छैनन् । तर, ३२ गतेको सुनवाइ भने स्थगित नहुने आशा सन्दीपको छ । उक्त दिनको पेशी सूचीमा उनको मुद्दा पहिलो नम्बरमा छ ।

नेपाली क्रिकेट टीमले अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिताका रूपमा एसिया कप क्रिकेट खेल्दैछ । अगष्ट ३० (भदौ १३ गते) बाट सुरु हुने एसिया कपको पहिलो म्याच नै नेपालले आयोजक पाकिस्तानसँग खेल्ने तालिका छ । नेपालको प्रमुख बलरका रूपमा रहेका अदालतबाट ‘क्लीन चिट’ लिएर एसिया कपमा प्रतिस्पर्धा गर्न चाहन्छन् ।

सन्दीप निकट स्रोत भन्छ, ‘मनमस्तिष्कमा मुद्दाको तनाव र बोझ लिएर मैदानमा प्रदर्शन गर्न सहज भइरहेको छैन । फैसलामा थप ढिलाइ भयो भने एसिया कप खेल्ने सम्भावना न्यून छ ।’

न्यायनिरुपणमा ढिलाइ हुँदा आफ्नो करिअर गम्भीर रूपमा प्रभावित बनिरहेको सन्दीपले महसुस गरेका छन् । विगतमा हरेक देशका टी–२० लिग खेल्दै आएका उनी अहिले थुप्रै लिगमा छुटिसके । यसले आर्थिक रूपमा पनि ठूलो नोक्सानी व्यहोर्नुपरेको स्रोतको भनाइ छ ।

‘आर्थिक पक्ष एउटा पाटो हो, तर त्योभन्दा महत्त्वपूर्ण कुरा भनेको फ्री माइन्डमा खेल्न पाइरहनुभएको छैन ।

एसिया कपजस्तो चुनौतीपूर्ण प्रतियोगितामा पनि मुद्दाको टेन्सन बोकेर मैदानमा भिड्नुपर्‍यो भने प्रदर्शन सोचेजस्तो नहुन सक्छ । त्यसैले अदालतले फैसला गरेन भने एसिया कप नखेल्ने मनस्थितिमा हुनुहुन्छ ,’ स्रोतले भन्यो ।

यदि सन्दीप एसिया कपमा सहभागी भएनन् भने नेपालका लागि ठूलो धक्का हुने निश्चित छ । भारत र पाकिस्तानजस्ता शक्तिशाली राष्ट्रहरुविरुद्धको भिडन्तमा सन्दीपबिनाको टिमको मनोबल कमजोर हुने नेपाल क्रिकेट संघका अधिकारीहरु पनि स्वीकार्छन् ।

एक पदाधिकारीले भने, ‘हामी पनि उहाँको मुद्दा चाँडो छिनोफानो होस भन्ने पक्षमा छौं । अहिलेको अवस्थामा सन्दीप बिनाको नेपाली टीम सोच्न पनि सकिँदैन ।’

एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको आरोप लगाएपछि सन्दीप पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । तर, उच्च अदालत पाटनले सो आदेश उल्टाउँदै सन्दीपलाई रिहा गरिदियो । पछि सर्वोच्चले उच्चको आदेश कायम राख्नुका साथै सन्दीपलाई विदेश गएर क्रिकेट खेल्ने समेत अनुमति दिएको छ ।

सन्दीपले थुनामुक्त भएलगत्तै राष्ट्रिय टिममा कमब्याक गरेका थिए । त्यसयता निरन्तर उनले नेपालका लागि खेलिरहेका छन् र उत्कृष्ट प्रदर्शन पनि गरिरहेका छन् । नेपाललाई विश्वकपको ग्लोबल क्वालिफायरमा पुर्‍याउन, एक दिवसीय मान्यता कायम राख्न तथा एसीसी प्रिमियर लिग जित्दै एसिया कपमा स्थान बनाउन सन्दीपको ठूलो योगदान छ ।

सन्दीपले अन्तर्राष्ट्रिय फ्रेन्चाइजमा पनि कमब्याक गरेका छन् । उनले हालै क्यानडामा आयोजित ग्लोबल टी–२० मा सर्रे जगुअर्सबाट खेल्दै उत्कृष्ट प्रदर्शनसमेत गरे । उनी अन्य देशका फ्रेन्चाइजहरुमा पनि सहभागी हुने योजनामा छन् ।

यता अदालतमा उनीविरुद्धको मुद्दा भने लामो समयदेखि किनारा लाग्न सकेको छैन । सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको एक वर्ष पुग्न लागिसकेको छ । बिहीबार मुद्दाको सुनवाइ भएन भने सन्दीपको एसिया कप प्रभावित बन्न सक्छ ।

किशोरीले लगिन् एक लाख

यसैबीच सन्दीपविरुद्ध जाहेरी दिने किशोरी गौशाला २६ ले अदालतबाट एक लाख रुपैयाँ बुझेकी छन् ।

मुद्दाको फैसला लम्बिएपछि जिल्ला अदालतले गत असारमा उनलाई सरकारी कोषबाट एक लाख रुपैयाँ दिलाउन आदेश गरेको थियो । त्यस बमोजिम गौशालाले एक लाख रकम बुझेको अदालत स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर