भारतले बिहीबार धौलीगंगा बाँध खोल्दै, महाकालीमा जल सतह बढ्न सक्ने – Nepal Press

भारतले बिहीबार धौलीगंगा बाँध खोल्दै, महाकालीमा जल सतह बढ्न सक्ने

दार्चुला । भारतले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका तेस्रो पटक खोल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज आइतबार एक सूचना निकालेर आउँदो बिहीबार बिहान ५ देखि बेलुकी ८ बजेसम्म धौलीगङ्गाको बाँधका ढोका खुल्ने जनाएको हो ।

भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए । बाँधका ढोका खुल्दा महाकाली नदीमा पानी बहाव बढ्ने भन्दै प्रशासनले नदी किनार बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न प्रशासनले भनेको छ ।

भारतले बर्खाको समयमा बेला बेला बाँधका ढोका खोल्दै आएको छ । भारतले गएको असार २६ गते पहिलो पटक बाँधका ढोका खोलेको थियो भने पुनः साउन ६ गते दोस्रो पटक बाँधका ढोका खोलेको थियो । साउन ६ गते दोस्रो पटक खोलेको बाँधले दार्चुलाको पारिपट्टि भारतीय क्षेत्र धार्चुलामा एक घर बाढीले बगाएको थियो ।

यसअघि २०७० सालमा भारतले नेपालतिर कुनै जानकारी नदिई बाँधका ढोका खोल्दा नेपालतिर क्षति भएको थियो । पछिल्ला वर्षहरूमा भारतले परियोजनाका ढोका खोल्दा नेपालतिर पूर्वजानकारी दिने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर