बंगलादेशी गिरोहसँग नेपाली युवतीको कनेक्सन, काठमाडौंमा बन्धक बनाइएकासम्म यसरी पुग्यो प्रहरी – Nepal Press

बंगलादेशी गिरोहसँग नेपाली युवतीको कनेक्सन, काठमाडौंमा बन्धक बनाइएकासम्म यसरी पुग्यो प्रहरी

पोल्याण्ड लैजाने भन्दै काठमाडौंमा बन्धक बनाइएका बंगालीलाई यसरी गरियो उद्धार

काठमाडौं । गत साता बंगलादेशबाट नेपाल प्रहरीलाई बंगलादेशी गिरोहले काठमाडौंमा बंगलादेशी २ जना नागरिकलाई अपहरण र शरीर बन्धक गरेर पैसा मागिरहेको सूचना प्राप्त भयो । प्रहरीलाई भनिएको थियो- पोल्यान्ड पठाउने भनेर काठमाडौंमा ल्याएर बन्धक बनाइयो ।

प्रहरीले अपहरणकारीले प्रयोग गरेका केही मोबाइल नम्बरसमेत फेला पारेकोमा ती सबै स्वीचअफ थिए । तर, अपहरणकारी भनिएका व्यक्तिले प्रयोग गरेको एक मोबाइलमा अर्को कुनै सिम प्रयोग भइरहेको सूचनापछि ती व्यक्तिलाई सम्पर्क गर्ने प्रयास असफल भएपछि एक महिलामार्फत प्रहरी त्यो मोबाइल बोक्नेसम्म पुग्यो । बंगलादेशको गाजिपुर घर भएका ४७ वर्षीय आमिर हुसेनसँग उनी नजिक थिइन् । ती युवती नेपाली भएको खुलेको छ । उनको बारेमा प्रहरीले थप खुलाएको छैन । ती युवती भने पक्राउ परेकी छैनन् ।

‘अपहरण र शरीर बन्धकमा मुख्य व्यक्ति भनिएका हुसेन र ती महिलाबीच निकटको सम्बन्ध देखिएपछि हामीलाई अपहरणकारीसम्म पुग्न महत्वपूर्ण क्लू मिल्यो’, अनुसन्धानमा खटिएका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारी भन्छन् ।

प्रहरीले ती युवतीमार्फत हुसेनलाई काठमाडौंको एयरपोर्टस्थित होटलबाट पक्राउ गर्‍यो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीका अनुसार त्यहाँ अन्य चारजना पीडितहरु पनि भेटिए ।

‘उनीहरूलाई पनि पोल्यान्ड लैजान भनेर नेपाल ल्याइएको रहेछ । २ जना अपहरित खोज्दै गर्दा थप ४ जना पीडित भेटिए । अनुसन्धानका क्रममा ती दुई अपहरितलाई ललितपुरको हरिसिद्धीस्थित एक घरमा राखिएको पत्ता लाग्यो । बंगलादेशी नागरिक ३८ वर्षीय सलिम मिया र सिन्धुपाल्चोकको बलेफी स्थायी घर भएकी २७ वर्षीया तारा नेपाली बस्दै आएको कोठामा ती २ बंगलादेशी राखिएको फेला पर्‍यो’, एक अनुसन्धान अधिकारीले भने ।

कोठाभित्र चुकुल लगाइएकाले अनुसन्धानमा खटिएका अधिकारी पुग्न असहज भएको उनले बताए ।

‘ढोका नखुलेपछि फोरेर भित्र छिर्नुपर्ने अवस्था बन्यो’, उनले भने ।

प्रहरीले यो घटनामा बंगलादेशका २१ वर्षीय जहांगिर आलम, बंगलादेशकै बरिसालका ३७ वर्षीय मोसिउर रहमान र बंगलादेशको ढाकाकी २१ वर्षीया ताहमिना बेगमलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका बंगलादेशी लामो समयदेखि नेपालमा बस्दै आएको र नेपाली राम्रोसँग बोल्न सक्छन् ।

‘पक्राउ परेका सबै बंगलादेशी कानूनीरूपमा नेपालमा बसिरहेको देखिँदैन । उनीहरू सबैको भिसाको अवधि धेरै पहिला समाप्त भइसकेको छ’, एसएसपी केसीले भने ।

प्रहरीका अनुसार बन्धक बनाइएका व्यक्तिका परिवारसँग अपहरणकारीले मोटो रकम माग गरेका थिए । आफूहरूले भनेअनुसार बोल्न लगाएर बंगलादेशबाट पैसा मागी बुझाइएको पनि भेटिएको उनले बताए ।

‘बन्धक बनाइएकालाई आफू पोल्यान्ड पुगिसकेको भन्न लगाएर पनि परिवारसँग पैसा माग भएको देखिन्छ’, केसीले भने । नेपालबाट पोल्यान्ड जान सजिलो हुन्छ भन्दै काठमाडौंमा ल्याएर गिरोहले पैसा उठाउने गरेको प्रहरीले जनाएको छ । एसएसपी केसी भन्छन्, ‘उनीहरुले पोल्यान्ड पठाउने गरेको तत्कालको अनुसन्धानबाट देखिँदैन ।’

अपहरितलाई प्रेमिकाले फोन गरेपछि मसाज सञ्चालक पक्राउ

उद्धार भएलगत्तै अपहरितमध्ये एकले आफ्नो प्रेमिकालाई पनि गिरोहले विदेश पठाउने भन्दै काठमाडौं ल्याएको बताएका थिए । प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

अनुसन्धानमा खटिएका एक अधिकारीले शनिबार ती प्रेमिकाले आफ्ना प्रेमीलाई फोन गर्दै आफू मसाज सेन्टरमा काम गरिरहेको बताएकी थिइन् । त्यसपछि प्रहरीको टोली ठमेलस्थित केटिसी ब्युटी पार्लर स्पा पुगेको थियो । सुरूमा स्पा सञ्चालक रोशनी राईले त्यहाँ कुनैपनि बंगलादेशीलाई नराखिएको बताएकी थिइन् ।

तर, पछि खोज्दै जाँदा २ जना महिला फेला परेका थिए । दुबईमा काम गर्न पठाउने भन्दै गिरोहले काठमाडौंमा ल्याएर उनीहरूलाई मसाज सेन्टरमा काम लगाइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बंगलादेशी नागरिक काठमाडौंमा नेपाली युवतीसँग लिभिङ टुगेदरमा बसेर नियमित क्यासिनो जाने लतमा पर्ने गरेको देखिन्छन् ।

गत आर्थिक वर्षमा २८ हजार बंगलादेशी नागरिक नेपाल आएको देखिएको र त्योभन्दा अलिक कम संख्यामा नेपालबाट बाहिरिएकाले काठमाडौंमा गिरोह सक्रिय भएको हुनसक्ने प्रहरीको आशंका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *