हेटौँडा-काठमाडौं छोटो दूरीका सबै सडक अवरुद्ध – Nepal Press

हेटौँडा-काठमाडौं छोटो दूरीका सबै सडक अवरुद्ध

मकवानपुर । हेटौँडाबाट काठमाडौँ जाने छोटो दूरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो ।

भीमफेदी-२ भैँसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, कुलेखानी-सिस्नेरी-काठमाडौं सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ ।

मकवानपुरको इन्द्र सरोवर गाउँपालिका-३ भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौँ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

त्यस्तै, त्रिभुवन राजपथको भीमफेदी-९ लामिडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ ।

अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले बताए ।

त्यस्तै, कान्तिलोक पथ पनि बकैया गाउँपालिका-११ आँपचौरमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । हेटौँडा-काठमाडौँ जाने यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

भारी वर्षाका कारण हेटौँडा-४ हुँदै बग्ने कर्रा खोलामा आएको बाढी बस्तीमा पसेको छ । गर्दोही क्षेत्रमा रहेका केही घर डुवानमा परेको प्रहरीले जनाएको छ ।

खोलामा पानीको बहाव बढ्ने क्रममा रहेकाले उक्त क्षेत्रमा सुरक्षित स्थानमा जान प्रहरीले जानकारी गराएको छ । विगतमा पनि भारी वर्षातको बेला उक्त क्षेत्र डुब्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *