तीन वर्षमा सुदूरपश्चिमबाट अख्तियारमा ५२ सय उजुरी, कुन जिल्लाबाट कति ? – Nepal Press

तीन वर्षमा सुदूरपश्चिमबाट अख्तियारमा ५२ सय उजुरी, कुन जिल्लाबाट कति ?

डोटी । तीन वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशबाट अख्तियार दुरुपयोग गरेको भन्दै ५ हजार २ सय ६७ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले दिएको जानकारी अनुसार अख्तियारको दुरुपयोग गरेको भन्दै उजुरी दिनेको संख्या वर्षेनी बढ्दै गएको छ । आर्थिक वर्ष ०७७/०७८ मा प्रदेशबाट १ हजार ५ सय ७६ वटा उजुरी परेका थिए ।

आर्थिक वर्ष ०७८/०७९ मा उक्त संख्या बढेर १ हजार ७ सय ३९ पुगेको थियो । गत आर्थिक वर्ष (०७९/०८०) १ हजार ९ सय ५२ पुगेको कार्यालयले जनाएको छ । तीन वर्षको अवधिमा परेका उजुरीमध्ये ४ हजार ५ सय १७ उजुरी फर्छ्यौट भइसकेका र बाँकी ७ सय २० हाल अनुसन्धानमा रहेका छन् ।

तीन वर्षको अवधिमा सबैभन्दा बढी उजुरी कैलालीबाट परेका छन् । यस जिल्लामा ०७७/०७८ मा ४ सय ६०, ०७८/०७९ मा ४ सय ६३ र ०७९/०८० मा ४ सय ५७ उजुरी परेकामा हाल ६३ थान उजुरी अनुसन्धानका क्रममा रहेका छन् । यस जिल्लाबाट परेका उजुरीमध्ये १ सय ५९ हाल अनुसन्धानको क्रममा रहेका छन् । सबैभन्दा कम बाजुराबाट २ सय ८४ उजुरी परेका छन् । यस जिल्लाबाट परेका उजुरीमध्ये हाल अनुसन्धानमा ५३ उजुरी रहेका छन् ।

तीन वर्षको अवधिमा कञ्चनपुरबाट ८ सय ९८ उजुरी परेका आयोगको कञ्चनपुर कार्यालयका लेखा अधिकृत वसन्तबहादुर शाहीले जानकारी दिए । उनका अनुसार ०७७/०७८ मा २ सय ९७, ०७८/०७९ मा २ सय ८४ र ०७९/०८० मा ३ सय १३ उजुरी परेका हुन् । यस जिल्लाबाट परेका उजुरीमध्ये हाल ६३ अनुसन्धानको क्रममा रहेका छन् ।

यस्तै, प्रदेशका सात पहाडी जिल्लामध्ये सबैभन्दा बढी उजुरी बैतडीबाट परेका आयोगले उपलब्ध गराएको विवरणमा उल्लेख छ । यस जिल्लाबाट ०७७/०७८ मा २ सय १५, ०७८/०७९ मा २ सय २९ र ०७९/०८० मा २ सय ७७ गरी यो अवधिमा ७ सय २२ उजुरी परेका थिए । जसमा आयोगले ६ सय २१ उजुरी किनारा लगाई सकेको छ भने बाँकी १ सय १ उजुरी अनुसन्धानको क्रममा रहेका छन् ।

डडेल्धुरा जिल्लाबाट तीन वर्षको अवधिमा३ सय ७२ उजुरी परेका छन् । यस जिल्लाबाट ०७७/०७८ मा १ सय १८, ०७८/०७९ मा १ सय २९ र ०७९/०८० मा १ सय २९ उजुरी परेकामा हाल अनुसन्धानका क्रममा ४३ उजुरी रहेका छन् । दार्चुला जिल्लाबाट परेका ०७७/०७८ मा १ सय ११, ०७८/०७९ मा १ सय ३२ र ०७९/०८० मा १ सय ४४ गरी ३ सय ८७ उजुरीमध्ये ३ सय ३० फर्छ्यौट भइ हाल ५७ अनुसन्धानको क्रममा रहेका छन् ।

तीन वर्षको अवधिमा बझाङ्गबाट ४ सय ६३ उजुरी परेका छन् । ०७७/०७८ मा १ सय १४, ०७८/०७९ मा १ सय ८२ र ०७९/०८० मा १ सय६७उजुरी परेकामध्ये ८२ उजुरी हाल अनुसन्धानको क्रममा रहेका छन् । अछामबाट ०७७/०७८ मा ८०, ०७८/०७९ मा १ सय १० र ०७९/०८० मा २ सय ६ गरी ३ सय ९६ उजुरी परेकामा २ सय ९१ आयोगले फर्छ्यौट गरी १ सय ५ अनुसन्धानको क्रममा रहेका छन् ।

यस्तै, डोटीबाट ०७७/०७८ मा १ सय १८, ०७८/०७९ मा १ सय २६ र ०७९/०८० मा १ सय २१ गरी तीन वर्षको अवधिमा ३ सय ६५ उजुरी परेका छन् । ती उजुरीहरूमध्ये ३ सय ८ किनारा लागिसकेका छन् भने ५७ हाल अनुसन्धानको क्रममा रहेका आयोगका लेखा अधिकृत शाहीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर