गठबन्धनको समाजवादी मोर्चा श्रमिकहरूको विपक्षमा छ : एमाले महासचिव पोख्रेल – Nepal Press

गठबन्धनको समाजवादी मोर्चा श्रमिकहरूको विपक्षमा छ : एमाले महासचिव पोख्रेल

भक्तपुर । गठबन्धनको सरकार श्रमिक विरोधी रहेको नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले बताएका छन् ।

सत्तामा टिकिरहन सरकारमा रहेका दलहरूले समाजवादी मोर्चा बनाए पनि खासमा सत्तासीन दलहरू समाजवादको विपक्षमा रहेको र श्रमिकहरूको अधिकार कटौतीका सक्रिय रहेको उनले बताए ।

शनिवार भक्तपुरमा जारी नेपाल ट्रेड युनियन महासंघ जिफन्टको दशौं प्रतिनिधि परिषद्को उद्घाटनका क्रममा महासचिव पोखरेलले दुई वर्षमा वृद्धि हुनु पर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि गर्न नसकेकोमा आलोचना गरे ।

उनले साउन १ गतेदेखि नै लागु भइसक्नु पर्ने न्यूनतम ज्याला आज साउनको अन्तिम सातासम्म पनि सरकारले तय गर्न नसकेकोमा दुख व्यक्त गरे ।

सरकारको श्रमिक नीतिमा रहेको खोटकै कारण प्रत्येक वर्ष नेपाली श्रम बजारमा पाँच लाख श्रमिकहरू थपिने गरे पनि प्रत्येक वर्ष साढे ७ लाख श्रमिकहरू रोजगारीका लागि विदेशिनु दुखद् रहेको उल्लेख गर्दै उनले अवैधानिक पूँजीलाई प्रश्रय दिनु र वैधानिक पूँजीलाई निरुत्साहित गर्ने गठबन्धन सरकारको नीति मूल कारण रहेको बताए ।

उनले भने, ‘देश आर्थिक मन्दीमा रहेको प्रचार गरिएको छ तर, हाम्रा छिमेकी चीन र भारत दुवै देशमा आर्थिक मन्दी छैन यदि देशमा मन्दी भएको हो भने जनता समस्या परेका हुन् भने सरकारको नेतृत्व गर्ने नेताका नजिकका व्यापारीले ४० अर्ब फाइदा कसरी कमाए ? यसको जवाफ सरकारले दिनु पर्छ ।’

जिफन्टका संरक्षक तथा नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले जिफन्ट नेकपा (एमाले) को जनसंगठनहरु मध्ये विचार र संगठन संरचना र शैलीका आधारमा नितान्त फरक संगठन रहेको बताउँदै कामको क्षेत्रमा फेरिएको समयलाई मध्यनजर गर्दै जिफन्टले आफूलाई निर्माताहरूको संगठन बनाउनु पर्ने बताए ।

त्यस्तै एफइएसका नेपाल निर्देशक डा. चन्द्रदेव भट्टले अहिलेको विश्व श्रम बजार नै प्रतिकुल रहेकाले पूँजी र श्रमबीचको सम्बन्धलाई कसरी विस्तार गर्ने ट्रेड युनियनलाई समाजसँग कसरी जोड्ने ट्रेड युनियन आन्दोलनको विषय रहेको बताउँदै नेपालको श्रम बजारमा जिफन्ट सधैँ अब्बल रहेको बताए

प्रतिनिधि परिषद्मा देशभरिबाट सहभागी ३ सय ७ जना प्रतिनिधिहरूलाई स्वागत गर्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले जिफन्टलाई सर्वकालिक सशक्त संगठनका रूपमा निर्माण गर्न जिफन्ट स्थापना कालमा योगदान गर्ने सबै अग्रजहरूको भूमिकालाई स्मरण गरे

उनले भने, ‘जिफन्टका ४ लाख ५० हजार ३३७ सदस्यहरू हाम्रो यात्राका इन्जिन हुन् यसलाई थप बलियो बनाउने संकल्प गर्दै आउने वर्ष नेपाली श्रम बजारमा ७५ हजार नयाँ सदस्यहरूलाई आन्दोलनको थप शक्तिका रूपमा थप गर्नुपर्छ ।’

जिफन्टको आठौँ राष्ट्रिय महाधिवेशनले पास गरेको ११ बुँदे चार वर्षे कार्यक्रमलाई ६ वटा विषयहरूमा केन्द्रित रहेर योजना तर्जुमा गरिएको छ ।

न्यूनतम ज्याला निर्धारणका लागि दबाब, विभिन्न प्रतिष्ठानहरूमा विना तलब काम गराइएका इन्टर्नहरुलाई तलब अनौपचारिक क्षेत्रका श्रमिकहरूको पञ्जीकरणमा पालिका तहमा रहेका संकट र रणनीतिहरू, स्वरोजगार प्रवर्द्धन र आत्मनिर्भरता र स्वरोजगारका सम्भावित क्षेत्रहरूको विषयहरू योजनामा समेटिएका छन् ।

त्यस्तै सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा उत्पन्न समस्याहरू र समेटिन बाँकी क्षेत्रहरूको पहिचान र आगामी ३ वर्षमा २० लाख श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराइने योजना, जेटियुसिसि र आइटियुसी न्याक र अन्य संयन्त्रहरू ग्लोबल युनियन फेडेरेशनको कामलाई प्रभावकारी बनाउने कार्यक्रम परिषद्ले पास गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर