दाहाल यज्ञनिधि पुरस्कार निनु चापागाईंलाई प्रदान – Nepal Press

दाहाल यज्ञनिधि पुरस्कार निनु चापागाईंलाई प्रदान

काठमाडौं । साहित्यकार तथा सञ्चारकर्मी ‘जदौ’ दाहाल यज्ञनिधिको नाममा स्थापना भएको पुरस्कार साहित्यकार निनु चापागाईंलाई प्रदान गरिएको छ ।

बिहीबार दाहाल यज्ञनिधिको पाँचौ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि इतिहासकार ज्ञानमणि नेपालले एक लाख ५० हजार राशिको पुरस्कार साहित्यकार चापागाईंलाई प्रदान गरेका हुन् ।

सोही अवसरमा दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कारबाट दुई जना छात्रछात्रा सम्मानित भएका छन् । दरबार हास्कुलको कक्षा ८ मा उर्तिण हुँदा नेपाली विषयमा सबैभन्दा बढी जीपीए ल्याउने छात्रतर्फ निखिलकुमार साह (३.८०) र छात्रातर्फ लुनिभा कार्की (३.३३) सम्मानित भएका हुन् । २० हजार राशिको यो पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको हो ।

बिहीबार दाहाल यज्ञनिधिको व्यक्तित्व र कृतित्व केन्द्रित अन्तरक्रिया सम्पन्न भएको थियो । अन्तरक्रियामा प्रा.डा. वद्रीविशाल भट्टराई, प्रमोद प्रधान, डा. रमेश शुभेच्छु र दिनेश लुइटेलले कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा गायिका लोचन भट्टराईले दाहाल यज्ञनिधिको गीत गाइन भने देवकुमारी लुइटेलले कविता वाचन गरिन् ।

सदनका अध्यक्ष सुधा दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार प्रा.डा. माधव पोखरेल, डा. विष्णु राई, पूर्व मन्त्री गिरिराजमणि पोखरेल, साहित्यकार प्रल्हाद पोखरेल, पत्रकार पुरुषोत्तम दाहालगायत नेपाली साहित्य र कला क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।
‘दाहाल यज्ञनिधि सुधा सदन’ नाममा ५१ लाख रूपैयाँको अक्षयकोशमा राखिएको छ ।

अक्षयकोशबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिँदै आएको छ । बालप्रतिभाका रुपमा दुई प्रतिभालाई सम्मान गरिँदै आएको छ ।

वि.सं. २०१० साल साउन ८ गते खोटाङमा जन्मिएका नेपाली साहित्य र पत्रकारिता क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो । उनका .‘जदौका निबन्ध’ (२०६९), जदौका ३४ निबन्ध (२०७६), खुला आकाश, गीति एल्बम (२०७६), दाहाल यज्ञनिधिका कविता (२०७८), जदौ (२०७६) जीवनी र व्यक्तित्व केन्द्रित कृति प्रकाशित छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *