ह्वात्तै बढ्यो लुम्बिनीमा विदेशी पर्यटकको संख्या – Nepal Press

ह्वात्तै बढ्यो लुम्बिनीमा विदेशी पर्यटकको संख्या

रुपन्देही । कोरोना महामारीपछि सुस्ताएको बुद्धजन्मस्थल लुम्बिनीमा विदेशी पर्यटक आवागमन बढेको छ । कोभिड महामारीपछि लुम्बिनी आउने विदेशी पर्यटकको संख्या पछिल्लो एक वर्षमा निकै उत्साहजनक रुपमा वृद्धि भएको हो।

लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार सन् २०२३ को जुलाई महिनासम्म नेपाली, भारतीय र अन्य मुलुकका गरी ५ लाख ६० हजार ३ सय २५ जनाले लुम्बिनी भ्रमण गरेका छन् । गतवर्ष सन् २०२२ मा जुलाई महिनासम्म ४ लाख ६५ हजार ९ सय ७९ जना पर्यटक लुम्बिनी आएका थिए ।

यो हिसाबले गतवर्षभन्दा ९४ हजार ३४६ बढि पर्यटकले लुम्बिनी भ्रमण गरेको तथ्यांकले देखाएको छ । गतवर्षको तुलनामा यो वर्ष लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या उत्साहजनक रुपमा बृद्धि भएको कोषका सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले जानकारी दिए ।

उनले नेपाली, भारतीयसँगै सबैभन्दा बढी तेस्रो मुलुकका पर्यटकहरुको आवागमन बृद्धि भएको देखिएको बताए । उनका अनुसार गतवर्ष जुलाईसम्म नेपाली पर्यटकले ३ लाख ५५ हजार पर्यटकले लुम्बिनी भ्रमण गरेकोमा यो वर्ष त्यो संख्या वृद्धि भएर ३ लाख ७९ हजार पुगेको छ ।

त्यस्तै गतवर्ष भारतीयहरु पर्यटकको संख्या १ लाख ६ हजार भएकोमा यो वर्षको जुलाईसम्म १ लाख ४३ हजारले भ्रमण गरिसकेको अधिकृत राईले बताए । कोभिड महामारीपछि सबैभन्दा निकै कम मात्रामा आएका पासपोर्टधारी पर्यटक अर्थात नेपाल र भारत बाहेकका पर्यटकको संख्या यो वर्ष निकै उत्साहजनक देखिएको सूचना अधिकृत राईको भनाइ छ ।

उनका अनुसार गतवर्ष जुलाईसम्म ३ हजार ९ ७५ पर्यटकले लुम्बिनी पाइला टेकेकोमा यो वर्ष संख्या हवात्तै बृद्धि भएर ३६ हजार ९९७ पुगेको छ । यो ८ सय ३० प्रतिशले बृद्धि भएको हो । कोभिडको समयमा विश्व घुम्न नपाएकाहरु विस्तारै भ्रमणमा निस्कन थालेकाले पर्यटक संख्या बृद्धि भएको उनले बताए ।

युक्रेन रुस युद्धका कारणले पनि शान्ति खोज्दै शान्तिभूमि लुम्बिनी भ्रमणमा आएको देखिएको राईले बताए । यहाँ आउने धेरै विदेशी पर्यटकमा थाइल्याण्ड, श्रीलंका, म्यानमार, साउन कोरिया र चीन रहेका छन् । यसका साथै जर्मनी र फ्रान्सबाट समेत पर्यटकहरु लुम्बिनी भ्रमणमा आएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकको आवागमन वृद्धि हुँदै गएकाले सन् २०२३ को अन्तिमसम्म २० प्रतिशतसम्म वृद्धि हुनसक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर