अभिनेत्री कविताले कवितामै उतारिन् जीवनका भोगाइ – Nepal Press

अभिनेत्री कविताले कवितामै उतारिन् जीवनका भोगाइ

काठमाडौँ । हिट फिल्म ‘बोबी’की अभिनेत्री कविता गुरुङको कविता संग्रह ‘मेरो कविताको शीर्षक छ’ लोकार्पण गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्माता संघका कोषाध्यक्ष ज्योति राईलगायतले कविता संग्रहको ‘सट लिष्ट’ सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा अभिनेत्री गुरुङले आफ्नो जीवनको भोगाइका अनुभवहरु कवितामार्फत उतारेको बताइन् । ‘म राम्रो कवि, साहित्यकार होइन । आफूले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मनलागेर सार्वजनिक गरेकी हुँ’, अभिनेत्री गुरुङले भनिन् ।

गुरुङले सार्वजनिक गरेको ‘सट लिष्ट’मा १० वटा कविता छन् । आगामी दिनमा अन्य कवितासमेत थपेर पुस्तक ल्याउने सोच रहेको उनले बताइन् । नर्वेमा बस्दै आएकी अभिनेत्री गुरुङ कविता सार्वजनिक गर्न मात्रै केही दिन अगाडि नेपाल आएकी हुन् ।

‘जब मलाई मनले, भोगाइले कविता लेख भन्छ लेख्छु’, गुरुङले भनिन्, ‘मैले पहिलो चोटी ‘बोबी’ फिल्म अभिनय गरें । गत वर्ष पुस्तक ल्याएँ ।’

पहिलो पटक कोरेको कविता श्रीमान्लाई सुनाउँदा राम्रो भनेकाले अन्य कविता पनि कोरेको उनले बताइन् ।

कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष पराजुलीले अभिनेत्री गुरुङको आँट र क्षमताको आफू सधैं‌ प्रशंसक रहेको बताए ।

‘कतिपयले कविता पुस्तक बनाएपछि सार्वजनिक गर्छन् । उनले लेख्न थालेपछि जानकारी दिइन्’, पराजुलीले भने, ‘यस्तो कार्यक्रम पहिलो पटक हो, पहिलो भए पनि राम्रो सुरुवात भयो ।’

कविताले पुस्तक पुरा गरेर सार्वजनिक गर्नेमा आफू आशावादी रहेको पराजुलीले बताए ।

चलचित्र निर्माता संघका कोषाध्यक्ष ज्योति राईले अभिनेत्री गुरुङको कवितामा यथार्थ र जीवन भोगाइ भएकोले सबैको जीवनसँग कहीं न कहीं मेल खाने बताए ।

कार्यक्रममा कविताले ‘नबुझ्दा’, ‘मनमा लागेका सबै कुराहरु’, ‘भेट्नु छ एकचोटी अब फेरि’ शीर्षकका तीन कवितासमेत बाचन गरेकी थिइन् ।
उनले गतवर्ष ‘म अनि मेरो’ नामक आत्मकथा पुस्तक ल्याएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर