कांग्रेस बैठकमा प्रश्न- माधव नेपाललाई विदेश पठाउने, हाम्रा नेतालाई छानीछानी धरपकड गर्ने ? – Nepal Press

कांग्रेस बैठकमा प्रश्न- माधव नेपाललाई विदेश पठाउने, हाम्रा नेतालाई छानीछानी धरपकड गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सरकारले कांग्रेसका नेताहरूलाई मात्र लक्षित गरेर धरपकड गरिरहेको भन्दै यसबारेमा नेतृत्वको धारणा माग भएको छ ।

संसद भवनको ल्होत्से हलमा आयोजित दलको बैठकमा सांसद उदयशमसेर जबराले अदालतले अनुसन्धान गर्न आदेश दिएका कम्युनिष्ट नेता तथा पूर्वप्रधानमन्त्रीहरुलाई विदेश भ्रमणमा जान दिएर कांग्रेस नेताहरूलाई मात्र टार्गेट गरिएको बताए ।

राणाले भने, ‘हाम्रो पार्टी सरकारमा छ । तर, हामी सरकारमा भइरहँदा हाम्रा नेताहरूलाई मात्र किन टार्गेट गरिएको छ । पहिले बालकृष्ण खाणलाई पक्राउ गरियो, अहिले विजय गच्छदारलाई पक्राउ पूर्जी जारी गरिएको छ, सांसद सुनिल शर्मालाई समातिएको छ । जबकी कम्युनिष्ट नेताहरूको संलग्नताका काण्डहरू आउँदा पनि ढुक्कले अदालतको आदेश आइसक्दा पनि विदेश भ्रमणमा जान दिइएको छ ।’

दलको बैठकमा लगातार कांग्रेस नेताहरूलाई लक्षित गरेर धरपकड गरिएकोमा सांसदहरूले आपत्ति जनाएका छन् । यसअघि सांसद चन्द्र भण्डारीले पनि टुंगिसकेको मुद्दामा सांसद सुनिल शर्मालाई पक्राउ गरेर केही व्यक्तिको प्रतिशोधमा राज्य संयन्त्र प्रयोग भएको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर