नसर्ने रोगविरुद्धको अभियान- इलाममा ‘टक अफ द वाक’ – Nepal Press

नसर्ने रोगविरुद्धको अभियान- इलाममा ‘टक अफ द वाक’

इलाम । ‘स्वास्थ्यका लागि कुरा गर्दै हिँडौं’ भन्ने अभियानअन्तर्गत इलाममा शुक्रबार ‘वाक अफ द टक’ आयोजना गरिएको छ । यो अभियानलाई नागरिकको स्वास्थ्यसँग जोड्न विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा इलाममा कार्यक्रम गरिएको हो ।

सर्ने रोगबाट भन्दा नसर्ने रोगबाट मृत्यु हुने दर धेरै रहेको तथ्यांकलाई ध्यानमा राख्दै नागरिकको जीवन शैली परिवर्तन गर्न सन्देश दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय इलाम र जिल्ला अस्पताल इलामको आयोजनामा शुक्रबार बिहान भएको टक अफ द वाक कार्यक्रममा स्वास्थ्यकर्मीसहित अभियान्ता सहभागी थिए ।

सबैको लागि स्वास्थ्य भन्ने सरकारको नारा रहेको भए पनि अझै धेरै नागरिक उपचार नपाएर मृत्युवरण गरिरहेका छन्, स्वास्थ्य सेवाको पहुँच पुग्न सकेको छैन । आफ्नो स्वास्थ्य प्रति ध्यान दिने, खानपान, आहार बिहार तथा योग ध्यान र कसरत नियमित गर्नाले नसर्ने रोगमा कमी ल्याउन सकिने कार्यक्रममा सहभागी कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।

पछिल्लो समय नसर्ने रोगका कारण ६० प्रतिशत मानिसले मृत्यु भइरहेको तथ्यलाई आत्मसात् गर्दै आयोजना भएको वाक अफ द टक अभियानले स्थानीयलाई आफ्नो स्वास्थ्यप्रति ध्यान दिन अभिप्रेरित गराएको उनले बताए ।

प्रदेश स्वास्थ्य मन्त्रालयले नागरिकका स्वास्थ्यलाई लक्षित गरी धेरै योजना र कार्यक्रमहरू गर्दै आएको जानकारी दिँदै उनले सबैले आफ्नो स्वास्थ्य आफैँले ध्यान दिनुपर्ने बेला आएको उल्लेख गरे । बिहान जिल्ला अस्पताल इलामबाट सुरू भएको कुरा गर्दै हिँड अभियान लोकसेवा आयोगको कार्यालय, चिया बगान हुँदै इलाम अस्पतालमा नै पुगेर समापन भएको छ ।

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला अस्पतालका कर्मचारी, जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी, अन्य जिल्लाबाट सहभागी भएका स्वास्थ्य क्षेत्रका अभियन्ता, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखहरू सहभागी थिए । यो अभियानलाई सबैको घर घरमा पुर्‍याउनु पर्नेमा सहभागीले जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर