पत्रकार बनेर नेकपा बहुमतको नाममा चन्दा उठाउने धनबहादुर एमालेद्वारा निष्कासित – Nepal Press

पत्रकार बनेर नेकपा बहुमतको नाममा चन्दा उठाउने धनबहादुर एमालेद्वारा निष्कासित

रूपन्देही । नेकपा बहुमतको नाममा पत्रकार भन्दै चन्दा उठाउने एक नेतालाई नेकपा एमालेले निष्कासन गरेको छ । बिहीबार नेपाल कम्युनिस्ट पार्टी बहुमतको नामबाट विभिन्न व्यक्तिहरूसँग लाखौं चन्दा माग्दै आएको आरोपमा पक्राउ परेका धनबहादुर परियारलाई नेकपा एमाले सल्यान जिल्लाले पार्टीबाट निष्कासन गरेको हो । उनलाई दाङ प्रहरीले प्रमाणसहित बिहीबार सार्वजनिक गरेको थियो ।

धनबहादुरको साथबाट पत्रकार महासंघ सल्यानको परिचयपत्र समेत बरामद भएको छ ।

नेकपा एमाले जिल्ला कमिटी सल्यानका अध्यक्ष गोविन्दकुमार पुनले प्रेस विज्ञप्ति जारी गर्दै केही दिनअघि मात्र नेकपा एमाले त्रिवेणी गाउँपालिकाको अधिवेशन आयोजक कमिटी संयोजकको जिम्मेवारी प्राप्त गरेका त्रिवेणी गाउँपालिका वडा नं ९ फालाबाङका ३३ वर्षीय धनबहादुर परियारलाई पार्टीको साधारण सदस्य समेत रहने गरी पार्टीबाट निष्कासन गरिएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘हालै जिम्मेवारी प्राप्त गरेका परियार जिल्ला बाहिर विभिन्न व्यक्तिसँग चन्दा माग्दै हिँडेको भनी प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको खबर प्राप्त भएकोले नेकपा एमाले सल्यान जिल्ला कमिटीले आजैको मितिबाट निजलाई उक्त जिम्मेवारीबाट हटाइ साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ ।’

प्रहरीको अनुसार परियारले पत्र, फोन र एसएमएसमार्फत विभिन्न व्यक्तिहरूसँग लाखौं चन्दा माग्ने तथा त्यो नदिए ज्यान लिनेसम्मको धम्कीहरू दिँदै आएको थिए । उनलाई यही आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *