एमालेले विशेष नगरसभा बहिष्कार गरेपछि सिद्धार्थनगरमा घटाइयो कर – Nepal Press

एमालेले विशेष नगरसभा बहिष्कार गरेपछि सिद्धार्थनगरमा घटाइयो कर

रुपन्देही । एकीकृत सम्पत्ति कर घटाउन आफूहरूले राखेको माग बहुमतका आधारमा सम्बोधन नभएको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको १४औँ विशेष नगरसभा एमालेका सदस्यहरूले बहिष्कार गरेका छन् ।

एकीकृत सम्पत्ति करमा १० प्रतिशतभन्दा बढी वृद्धि गर्न नहुने एमाले जनप्रतिनिधिको सुझावलाई लत्याएको भन्दै नेकपा एमालेका नगर सदस्यहरूले बहिष्कार गरेको बताएका छन् । ७ सय प्रतिशतसम्म बढाइएको यो कर एमालेका जनप्रतिनिधिले १० प्रतिशतमा झार्न प्रस्ताव गरेका थिए । विरोधका बाबजुद पारित गर्न लागेपछि वडा नम्बर ८ का सदस्य तथा नगरसभा सदस्य प्रकाश पाण्डेले बताए ।

‘एकैपटक एकीकृत सम्पत्ति कर बढाउँदा जनतालाई समस्या हुन्छ बिस्तारै बढाऊँ भन्दा बहुमतको आधारमा २० प्रतिशतसम्म बढाउने निर्णय हुन थालेपछि एमालेका २६ जना नगरसभा सदस्यहरूले बहिष्कार गरेका छौं’, उनले भने ।

वडा नं ९ का वडा सदस्य वसन्तप्रसाद भट्टराईले एकीकृत सम्पत्ति कर बढाएको विषयमा जनताको व्यापक गुनासो आएपछि सम्बोधन गरौं भन्ने प्रस्ताव पेश गरेकोमा उक्त प्रस्तावमा पनि कुनै किसिमको हेरफेर नहुने जानकारी प्राप्त भएको हुँदा विशेष नगर सभाको औचित्य नरहेको बताए ।

वडा नं ८ का वडा सदस्य हरि प्रसाद आचार्यले कार्यपालिकाको निर्णय भयो त्यही नै नगर सभा सदस्यले पारित गर्नुपर्ने भए नगर सदस्यको आवाज सुनुवाई नहुने भए नगरसभा के का लागि बोलाएको भनी नगर सभा बहिस्कार गरिएको बताए ।

सिद्धार्थनगर नगरपालिकाले एकीकृत सम्पत्ति कर बढाउँदा चौतर्फी आलोचना भएपछि बिहीबार विशेष नगर सभा राखेको थियो ।

नगरसभाले आर्थिक ऐन २०८०, संशोधन विधेयक बहुमतले पारित गर्दै करका दर घटाएको छ । सभाले गत आर्थिक वर्ष २०७९/०८० को सम्पत्तिको मूल्यांकन यथावत राख्ने र गत आर्थिक वर्ष २०७९/०८० को सम्पत्तिकरको दरमा २० प्रतिशत वृद्धि गर्ने निर्णय पारित गरेको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।

नगरपालिकाको आर्थिक ऐन २०८० को दफा ४ को उपदफा ३ बमोजिम ‘सम्पत्ति कर निर्धारण प्रयोजनका लागि जग्गाको मूल्यांकन गर्दा मालपोत कार्यालय रुपन्देहीबाट रजिस्ट्रेशन प्रयोजनका लागि कायम गरिएको जग्गाको न्यूनतम मूल्यांकन अनुसार गरिनेछ’ भन्ने व्यवस्था भएकोमा बिहीवार बसेको सभाले उक्त दफामा रहेको वाक्यलाई हटाएर ‘सिद्धार्थनगर नगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम आर्थिक वर्ष २०७९/०८० को लागि कायम भएको जग्गाको मूल्यांकनलाई आधार लिइनेछ’ वाक्य थप गरी ऐनमा संशोधन गरेको छ ।

यस्तै सभाले ‘मालपोत कार्यालयबाट निर्धारण हुने दरमा समान्जस्यता हुने गरी नगरसभाबाट पारित मूल्यांकनलाई आधार लिइनेछ’ भन्ने वाक्यलाई हटाएर ‘सिद्धार्थनगर नगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम आर्थिक वर्ष २०७९/०८० को लागि कायम भएको जग्गाको मूल्यांकनलाई आधार लिइनेछ’ वाक्य थप गरी ऐनमा संशोधन गरेको छ ।

जस्तोकी गत आर्थिक वर्ष २०७९/०८० मा ५० रुपैयाँ सम्पत्ति कर बुझाउँदै आएको नगरवासीले ऐन संशोधन पश्चात ६० रुपैयाँ मात्र कर बुझाउनु पर्ने हुन्छ । चालु आर्थिक वर्ष २०८०/०८१ को सम्पत्ति कर अत्याधिक भएको भन्दै नगरवासीहरुले गुनासो पोखेपछि विशेष नगरसभा आह्वान गरी आर्थिक ऐन संशोधन गरी सम्पत्ति करको दर घटाइएको नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले जानकारी दिए ।

उनले नगरवासीहरूले अत्यधिक सम्पत्ति कर बढाउनु उचित नभएको र बढाउनै पर्ने भएमा पनि थोरै वृद्धि गर्नुपर्ने सुझावअनुसार नगरवासीको हितमा विशेष नगर सभा आह्वान गरी अत्याधिक बढेको भन्ने सम्पत्ति कर घटाई गत आव भन्दा सम्पत्ति कर २० प्रतिशतले मात्र सभाले वृद्धि गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर