गण्डकी प्रदेश सभा सचिवालयमा एमालेले दर्ता गरायो सार्वजनिक महत्वका दुई प्रस्ताव – Nepal Press

गण्डकी प्रदेश सभा सचिवालयमा एमालेले दर्ता गरायो सार्वजनिक महत्वका दुई प्रस्ताव

पोखरा । नेकपा (एमाले)ले जरुरी सार्वजनिक महत्वक दुई वटा प्रस्ताव गण्डकी प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ । एमाले गण्डकीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र लम्पी स्किन महामारी नियन्त्रण गर्न माग गर्दै बिहीबार सार्वजनिक महत्वको २ प्रस्ताव दर्ता प्रदेश सभा सचिवालयमा दर्ता गराएको हो ।

एमालेले पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न र लम्पी स्किन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग माग गरेको छ । एमाले सचेतक देवका पहारीको उडानसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव सांसदद्वय यशोदा रिमाल र कृष्ण पाठकको समर्थनमा दर्ता भएको हो । विमानस्थलका लागि जग्गा अधिग्रहण भएको साढे चार दशकपछि चलेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नभए ऋणको किस्ता तिर्न नसकिने पहारीले बताइन् । गएको अंग्रेजी नयाँ वर्षबाट सुरु भएको विमानस्थलमा चीनबाट एक चार्टड उडानबाहेक अरु अन्तर्राष्ट्रिय उडान भएका छैनन् ।

गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ मा लम्पी स्किनको महामारी देखिएको छ । एमाले सांसद भीम कार्कीको लम्पी स्किन महामारी नियन्त्रण गर्न माग प्रस्तावमा एमाले सांसद राजकुमारी भुजेल र राप्रपाकी सांसद विन्दु पहाडी समर्थक छन् ।

बिजनेस नभएपछि स्थगित भयो प्रदेश सभा
३३ दिनपछि बस्ने गरी गण्डकी प्रदेश सभा बिहीबारका लागि बोलाइएको थियो । तर, बिहीबार प्रदेश सभामा आवश्यक बिजनेस नभएपछि बिहीबार बोलाइएको बैठक नबसी स्थगित भएको हो । अर्को बैठक साउन २९ गतेका लागि डाकिएको छ । पछिल्लो पटक प्रदेश सभा असार २२ गते बसेको थियो ।

प्रदेश सभामा संसदीय समिति गठन हुने गरी प्रदेश सभा बैठक बोलाइएको थियो । तर, दलसँग संसदीय समितिमा सहमति मिल्न नसक्दा प्रदेश सभा बैठक नबसि स्थगित भएको हो । प्रदेशसभा गठन भएको महिनौं हुँदा पनि संसदीय समिति बन्न सकेका छैनन् । बिहीबारको बैठकमा समिति गठन गर्ने तयारी भए पनि दलबीच सहमति नहुँदा बैठक स्थगित भएको हो ।

गण्डकी प्रदेशसभा नियमावलीअनुसार चार वटा समिति हुने व्यवस्था छ । कांग्रेस र एमालेले समान दुई समितिको नेतृत्वमा दाबी गरेका छन् भने माओवादी केन्द्रले पनि कम्तिमा एक समितिको नेतृत्व पाउनैपर्ने अडान राखेको छ । गण्डकी प्रदेशसभा अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, प्रदेश मामिला तथा कानुन समिति र सामाजिक विकास र कृषि समिति बन्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर