चिकित्सा शिक्षा ऐनले बन्द भएका कलेजका सञ्चालकहरुद्वारा तेस्रो चरणको आन्दोलन घोषणा – Nepal Press

चिकित्सा शिक्षा ऐनले बन्द भएका कलेजका सञ्चालकहरुद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । प्राविधिक चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले १४ बुँदे माग राख्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐनको कारण नर्सिङ कलेजहरु धमाधम बन्द हुन थालेको भन्दै समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमबाट आफूहरुको माग सम्बोधन नभएको भन्दै तेस्रो चरणमा शान्तिपूर्ण सडक आन्दोलन घोषणा गरिएको समितिका संयोजक निर्मल सापकोटाले बताए ।

देशमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रणालीलाई प्रभावकारी सञ्चालन गर्नेतर्फ राज्यलाई दबाब दिन समितिले असार ७ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

तेस्रो चरणको आन्दोलन २७ गते माइतीघरमा शान्तिपूर्ण धर्नाबाट सुरु हुने उनले बताए । २८ गते सबै शिक्षण संस्था बन्द गरी कलेज सञ्चालकहरु, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरुको र्‍याली गर्ने कार्यक्रम रहेको छ । यसबाट उत्पन्न हुने अवस्थाको जिम्मेवार राज्यले लिनुपर्ने उनले चेतावनी दिए ।

चिकित्सा शिक्षा ऐनले बन्द भएका कलेजहरु खुल्नुपर्ने उनीहरुको माग छ । चिकित्सा शिक्षा ऐनका कारण सीटीईभीटीअन्तर्गत सञ्चालित प्रि-डिप्लोमा तहका स्वास्थ्य विषयका १३७ र स्टाफ नर्सतर्फका ७३ वटा शैक्षिक संस्था बन्द भएका छन् । त्यस्तै विश्वविद्यालयअन्तर्गतका स्नातक तहका बीएन पढाइ हुने १० र बीएस्सी नर्सिङ पढाइने ८ गरी २२८ वटा शिक्षण संस्थाहरु बन्द भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *