नेपाली चालकलाई केरुङ पुग्ने प्रवेश पास व्यवस्था गर्न चीन सकारात्मक – Nepal Press

नेपाली चालकलाई केरुङ पुग्ने प्रवेश पास व्यवस्था गर्न चीन सकारात्मक

काठमाडौं । रसुवागढी नाका हुँदै केरुङ जाने ट्रक कन्टेनरका चालकलाई प्रवेश अनुमतिपत्र व्यवस्था गर्न चीन सकारात्मक रहेको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले बताएका छन् ।

विभाग पुगेका नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका प्रतिनिधिमण्डलसँगको कुराकानीमा महानिर्देशक अधिकारीले उक्त कुरा बताएका हुन् ।

‘चीनतर्फ कस्टम अथोरिटीसम्म कुरा लैजाने गरी नेपालस्थित चीनको राजदूतावासका सेकेण्ड सेक्रेटरीसँग बुधबार नै अध्यागमन विभागमा छलफल गरेको थिएँ । चीन यस विषयमा सकारात्मक छ । चाँडै समस्याको समाधान हुनेमा हामी आशावादी छौं’, महानिर्देशक अधिकारीले भने ।

गृह मन्त्रालय अध्यागमन शाखाले रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने अनुमतिपत्रसम्बन्धी कार्यविधि २०७६ जारी गर्दै चार प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था गरेको थियो । उक्त कार्यविधिमा सवारी चालक प्रवेश अनुमतिपत्र, कामदार प्रवेश अनुमतिपत्र, व्यवसायी प्रवेश अनुमतिपत्र, एकदिने प्रवेश अनुमतिपत्रको व्यवस्था थियो । तर, अहिलेसम्म चालकले चीन प्रवेश अनुमतिपत्र पाएका छैनन् ।

प्रवेश अनुमतिपत्र नपाउँदा ९६६ वटा ट्रक कन्टेनरका चालकहरुले चीन प्रवेश पाएका छैनन् । उनीहरुले काठमाडौंबाट १३२ किलोमिटर दूरीमा रहेको रसुवागढीको टिमुरेसम्म मात्रै सवारीसाधन पुर्‍याउन पाएका छन् । उनीहरुले लगेका ट्रक तथा कन्टेनर चीन प्रवेश अनुमतिपत्र भएका रसुवाका चालक खोजेर २४ किलोमिटर दूरीमा रहेको केरुङ लान थप १५ हजार तिर्नुपर्ने बाध्यता रहेको व्यवसायीहरु बताउँछन् । जसको विरोध मजदुर संगठन र व्यवसायीहरुले गर्दै आइरहेका छन् ।

चालकहरुलाई पासको व्यवस्था गर्न आग्रह गर्दै लकडाउन अघि र पछि संगठन र जिल्लास्थित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय र गोसाँइकुण्ड गाउँपालिकालाई ध्यानाकर्षण गराइएको थियो ।

त्यस्तै साउन ३ गते अध्यागमन विभागलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले समस्या समाधान गर्न आग्रह गरेका थिए । सरकारले २०७६ सालमै जारी गरेको कार्यविधि कार्यान्वयनका लागि बल्ल चिनियाँ अधिकारीसमक्ष पुगेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।

‘यो हाम्रोभन्दा पनि देशको समस्या हो । यसको तत्काल समाधान हुनेमा हामी आशावादी छौं’, महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले भने ।

अब महँगोमा अपरिचित व्यक्तिलाई आफ्नो लाखौंको सवारीसाधन केरुङ पठाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास जागेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *