नेकपा बहुमतका नाममा चन्दा माग्ने पत्रकार पक्राउ – Nepal Press

नेकपा बहुमतका नाममा चन्दा माग्ने पत्रकार पक्राउ

दाङ । नेपाल कम्युनिस्ट पार्टी बहुमतको नाममा चन्दा आतंक मच्चाएका एकजना पत्रकारसहित दुई जनालाई तुलसीपुर प्रहरीले पक्राउ गरेको छ ।

नेकपा बहुमतको लेटरप्याड प्रयोग गरी विभिन्न व्यक्तिसँग जबरजस्ती चन्दा मागेको आरोपमा नेपाल पत्रकार महासंघ सल्यानका साधारण सदस्य धनराज परियार (तुफान) र चन्द्रप्रकाश विकलाई इप्रका तुलसीपुरले पक्राउ गरेको हो ।

परियार सल्यानको त्रिवेणी गाउँपालिका ५ फालाबाङ र विक सल्यानको छत्रेश्वरी गाउँपालिका १ दमाचौरका हुन् । परियार नेकपा एमाले त्रिवेणी गाउँपालिकाका सचिव समेत हुन् ।

उनीहरूलाई तुलसीपुरको हिमाल एकेडेमीका प्रिन्सिपल मधुसूदन केसी सँग दस लाख,सल्यानको कालिका माविका शिक्षक बामदेव अधिकारीसँग पाँच लाख, तुलसीपुर ७ पर्सेनीका इन्द्रबहादुर वलीसँग एक लाख, तुलसीपुर तुलसीपुर १८ बेलझुन्डिका जानका बस्नेतसँग एक लाख रुपैयाँ जबरजस्ती चन्दा मागेको आरोपमा पक्राउ गरिएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिएका छन् ।

उनीहरूको कोठाबाट एक थान कम्प्युटर, एक थान प्रिन्टर, एकराज मोबाइल, केही थान चेक, एक सय ५३ वटा नेकपा बहुमत लेखिएका लेटरप्याड र छाप बरामद गरिएको छ ।

उनीहरूले चिनजानकै व्यक्तिसँग चन्दा मागेको पाइएको छ । धनराजको साथबाट पत्रकार महासंघ सल्यानको परिचयपत्र समेत बरामद भएको छ ।

उनीहरूले मागेजति चन्दा नदिए घरमा बम विस्फोट गराउने, हातखुट्टा भाँच्ने र ज्यान मार्ने धम्की समेत चिठी मार्फत दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *