माओवादीको प्रष्टीकरण- सुन तस्करीमा पार्टीका नेता दोषी देखिए कारबाही हुन्छ (भिडिओ) – Nepal Press

माओवादीको प्रष्टीकरण- सुन तस्करीमा पार्टीका नेता दोषी देखिए कारबाही हुन्छ (भिडिओ)

तीन महिने अभियान माओवादीको अन्तिम परीक्षा : प्रवक्ता अग्नि सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन तस्करी प्रकरणमा दोषी प्रमाणित भए पार्टीकै नेतामाथि पनि कारबाही हुने प्रष्ट्याएका छन् ।

प्रवक्ताको जिम्मेवारी पाएपछि बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सापकोटाले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री प्रतिबद्ध रहेको बताए ।

‘तथ्य र प्रमाणले पुष्टि भएको पार्टीकै नेतामाथि छानबिन र कारबाही हुन्छ’, उनले भने ।

निर्दोष नफस्ने र दोषी कोही पनि नउम्कने गरी ठीक ढंगले अनुसन्धान गर्नका लागि सरकारले सुन तस्करी प्रकरणको छानबिनको जिम्मेवारी सीआइबीलाई दिइएको सापकोटाले बताए । सुन प्रकरण, ललिता निवास प्रकरणलगायतको अनुसन्धानलाई जनताले पनि हेरिरहेकाले तलमाथि गर्न नमिल्ने उनको भनाइ छ ।

केन्द्रीय समिति बैठकमा सवै सदस्यले सुन तस्करी प्रकरणमा सरकारलाई सघाउने दृढता जनाएको उनको भनाइ छ । त्यस्तै प्रवक्ता सापकोटाले समाजवादी मोर्चाको गतिविधि केही सुस्त भएपनि मोर्चाको लक्ष्यका साथ अघि बढ्ने दाबी गर्नुभयो ।

प्रवक्ता सापकोटाले भदौ १६ देखि सुरू हुने ३ महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको बताए ।

उनले भने, ‘भदौ १६ गते ६७४३ वटामा एकै साथ उद्घाटन हुन्छ । अध्यक्षले सात प्रदेशको सातवटा वडाहरु जिम्मा लिनुभएको छ । हामीले पनि सबैले जिम्मा लिएका छौँ । यसमा हामीले वैचारिक पुनःगठन, राजनीतिक पुनःगठन, संगठनात्मक पुनःगठन र सांस्कृतिक पुनःगठनका कुरा गर्छौं । यो एउटा परीक्षा हो । हामी सबैका लागि परीक्षा हो । त्यसकारण यो परीक्षामा हामी सबै सामेल हुन्छौँ । मलाई विश्वास छ हामी यो परीक्षामा उत्तिर्ण हुन्छौँ । भदौको १५ गतेसम्म हामी तयारी गर्छौं । यो तीन महिने अभियान सफल हुन्छ । यो हाम्रो करिव करिव अन्तिम परीक्षा जस्तै छ । हामीले साझा संकल्प गरेका छौँ कि यो परीक्षामा हामी सामूहिक रुपमा उत्तीर्ण हुन्छौँ ।’


प्रतिक्रिया

One thought on “माओवादीको प्रष्टीकरण- सुन तस्करीमा पार्टीका नेता दोषी देखिए कारबाही हुन्छ (भिडिओ)

  1. कारवाहीको त कुरै छोडौं सामान्य सोधपुछ पनि गरेको खोइ बाउ छोरालाई ? गफ दिने झुटाहरू ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर