चितवनका सीडीओले भने- नारायणगढ मुग्लिन सडकमा वकिटकीसहित खटिन रास्वपालाई अनुमति छैन – Nepal Press

चितवनका सीडीओले भने- नारायणगढ मुग्लिन सडकमा वकिटकीसहित खटिन रास्वपालाई अनुमति छैन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले हिजोदेखि चितवनको नारायणगढ मुग्लिन सडक खण्डमा परिचालन गरेको स्वयंसेवक हटाउन जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आज सार्वजनिक सूचना जारी गरी नारायणगढ मुग्लिन सडक खण्डमा यातायात व्यवस्थित गर्न सरकारी संयन्त्र नै सक्षम रहेको बताउँदै पहेंलो ज्याकेट लगाएर वकिटकीसहित परिचालन भएकोप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनले जारी गरेको सार्वजनिक सूचनामा वकिटकी सञ्चार सेट सञ्चालनको लागि जिल्लाको अधिकार प्राप्त निकायबाट स्वीकृति लिए नलिएकोसमेत जानकारी नभएकोले उल्लेख गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले हिजोदेखि र्‍यापिड रेस्पोन्स टीम (आरएटी) नाम दिएर हिजोदेखि ५० जना स्वयंसेवक नारायणगढ–मुग्लिन सडक खण्डको यातायात व्यवस्थापन गर्न खटाएको जानकारी दिएको थियो ।

प्रजिअ पौडेलले कालिखोलामा खसेको पहिरो हटाएर सुरक्षा निकाय र सडकको टीमले सडक खुलाउने क्रममा कुनै अमुक दलको सहयोग नलिइएको पनि दाबी गरेका छन् । सूचनामा उनले विपदका घटनामा उद्धार र व्यवस्थापन गर्न राज्यका अंगहरु सक्षम रहेको जनाउँदै वकिटकी सञ्चार सेट दर्तावाल भए नभएको पनि अनुगमन गर्ने बताएका छन् ।

तर, जिल्ला विपद व्यवस्थापन समितिको स्वीकृति लिएर विपद् व्यवस्थापनमा खटिन सक्ने पनि उनले सार्वजनिक सूचनाबाट भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *