वर्षमान पुनद्वारा रोल्पा बस दुर्घटनाप्रति दुःख व्यक्त, घाइतेको उपचार र मृतकलाई राहत दिन निर्देशन – Nepal Press

वर्षमान पुनद्वारा रोल्पा बस दुर्घटनाप्रति दुःख व्यक्त, घाइतेको उपचार र मृतकलाई राहत दिन निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोल्पामा भएको बस दुर्घटनामा चार जनाको ज्यान गएकामा दुःख व्यक्त गरेका छन् ।

पुनले सामाजिक सञ्जालमार्फत दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बढ्दो सडक दुर्घटना र त्यसबाट भइरहेका मानवीय क्षति न्यूनीकरणका लागि गम्भीर ध्यान दिन सरोकारवाला निकायसँग आग्रहसमेत रहेका छन् ।

उनले घाइतेको उपचारमा कुनै समस्या परे आफू र आफ्नो सचिवालयमा सम्पर्क राख्नसमेत भनेका छन् ।

रोल्पाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई घाइतेको उपचार र मृतकलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिनुका साथै उक्त कार्यमा आफ्नो समन्वय आवश्यक भए जानकारी गराउन भनेका छन् ।

रोल्पाको बाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटना त्रिवेणी गाउँपालिका–७ रिचीमा मङ्गलवार दुर्घटनामा परेको थियो ।

दुर्घटनामा माडी गाउँपालिका–४ का ५० वर्षका गोरख डाँगी, उनकी श्रीमती ४६ वर्षीया हस्ता डाँगी, माडी–२ का २२ वर्षीय प्रकाश बाँठा र परिवर्तन गाउँपालिका–३ का ४५ वर्षका भक्तबहादुर विकको ज्यान गएको थियो ।

दुर्घटनामा ११ महिने शिशुसहित १५ जना घाइते भएका छन् ।

प्रहरीले दुर्घटनामा चालकको लापरबाही देखिएको भन्दै चालक दाङको घोराहीका २४ वर्षीय हुमराज बस्नेतलाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर