बाढी आउँछ आज मोबाइलमा सूचना आउँछ भोलि ! – Nepal Press

बाढी आउँछ आज मोबाइलमा सूचना आउँछ भोलि !

रुपन्देही । जल तथा मौसम विभागले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सूचित गर्नका लागि मोबाइलमा यसबारे अलर्ट सूचना आउने व्यवस्था गरेको छ । तर यसरी आउने सूचना कतिपय क्षेत्रमा ढिलो गरी आउँदा यो प्रभावकारी बन्न सकेको छैन ।

बाढी पूर्वानुमान महाशाखाकाले दिएको सूचनाका आधारमा नेपाल टेलिकम र एनसेलबाट सम्बन्धित क्षेत्र आसपासका उपभोक्ताको मोबाइलमा म्यासेज जाने गरी यो व्यवस्था गरिएको हो तर केही स्थानमा अर्को दिन मोबाइलमा म्यासेज आउने समस्या रहेको छ । यो समस्या केही दिनयता बागमती क्षेत्रमा बढेको छ । हिजो मङ्गलवार बाढी आउने सूचना आज बुधवार मोबाइलमा म्यासेज आएको छ ।

विभागमा यो सूचना तयारीका लागि देशव्यापी नेटवर्क तथा कर्मचारी छन् । उनीहरूले तयार गरेका सूचनाका आधारमा त्यो खबर दिन यो व्यवस्था सुरु गरिएको हो ।

बाढी प्रभावितका उपभोक्तालाई सूचना दिनको लागि यस्तो व्यवस्था गर्न सरकारले विभागमार्फत योजना बनाएको भए पनि त्यसको कार्यान्वयन नभएका प्रशस्त उदाहरण छन् । केही दिनअघि रुपन्देहीको तिनाउ नदीमा बाढी आउने भन्दै सूचना स्थानीय दीपक केसीको मोबाइलमा आउनु ४ घण्टा अगाडि नै ठूलो बाढी आएको थियो ।

यस्तो समस्या कपिलवस्तुमा पनि रहेको स्थानीय मोहन वेलवासेले सुनाए ।

गण्डक क्षेत्रमा बाढी आउने सूचना आफ्नो मोबाइलमा आउँदै नआएको त्यहाँस्थित पत्रकार मुक्ति तिवारी बताउँछन् । ‘सूचनाका लागि हामी आफैले खोज्नुपर्दछ, मोबाइलमा म्यासेज आउने समाचार मात्रै सुनियो तर कार्यान्वयन भएको छैन’ उनले भने ।

बाढी पूर्वानुमान महाशाखाका सुनिल पोखरेलले बागमती क्षेत्रमा यस्तो समस्या आएको खबर आएको र त्यस विषयमा के समस्या रहेछ भनेर बुझ्ने उनले बताए ।

‘काठमाडौंमा धेरै मोबाइल भएकाले यस्तो समस्या भएको हुनसक्छ, अनि केही उपभोक्ताको मोबाइलमा नेटवर्कको समस्याले पनि यस्तो हुनसक्छ, धेरै बाढी आउने क्षेत्रमा छिटो छिटो सूचना जाने व्यवस्था गरिएको छ, कम प्रभावित हुने ठाउँमा समस्या मिलाएर सूचना दिने व्यवस्था गरिएको छ’ उनले भने ।

काठमाडौं बाहिर भने पूर्वानुमानको केही समय तलमाथि परेको तर दिन नै बाहिर गएको गुनासो नआएको उनले बताए ।

पोखरेलका अनुसार विभागले टेलिकम र एनसेलका उपभोक्तालाई यो सूचना दिन निःशुल्क व्यवस्था गराएको छ । धेरै मोबाइल भएका ठाउँमा केही नेटवर्कले यस्तो भएको भए छिटो समाधान गरिने उनले नेपाल प्रेसलाई बताए ।

विभागका सूचना अधिकारी विभूति पोखरेलले महाशाखाले सूचना तयार गरेर टेलिकमलाई पठाउने तर त्यसपछि सूचना मोबाइलमा गएको बुझिरहेको बताइन् ।

‘यो समस्याको बारेमा गुनासो आएको छैन, के कारणले हो म कार्यालय पुगेर सम्बन्धित क्षेत्रका साथीहरूलाई बुझेर खबर गर्छ, हामीले पठाएको सूचना पठाउने जिम्मेवारी टेलिकमको हो, कहीँनिर समस्या भए समाधानको पहल हुनेछ’ उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *