हङकङमा बिक्री भएको टाइगर प्यालेस होटलबारे सरकार र अख्तियारले थाले छानबिन – Nepal Press
फलोअप

हङकङमा बिक्री भएको टाइगर प्यालेस होटलबारे सरकार र अख्तियारले थाले छानबिन

रुपन्देही । रुपन्देहीको कोटिहवामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्ट हङकङमा बिक्री भएको विषयमा सरकार र अख्तियारले छानबिन थालेको छ ।

विदेशी कम्पनी सिल्भर हेरिटेजले संचालन गरेको यो होटल अमेरिकामा रहेका एनआरएनहरुको कम्पनीले देश बाहिर खरिद गरेको विषय बाहिर आएपछि सरकार र अख्तियारले यसको छानबिन थालेका हुन् ।

लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायत होटल चलाइरहेका चितवनका बुद्धिसागर सुवेदी अध्यक्ष रहेको समूहले होटल खरिद गरेको हो । सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो ।

हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता छ । हङकङमा दर्ता रहेको सिल्भर हेरिटेजको शेयर हङकङमै खरिद गरेपछि रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगरमा सरेको कम्पनीले जनाएको छ ।

विशेषगरी अवैध सुन प्रकरणमा हङकङमा बसेर नेपालीहरुले योजना बनाइरहेको विषय बाहिर आइरहेको बेला यो कारोबार समेत उतै गरिएको विषयले सरकार र सम्बद्ध निकायलाई चिसो पसेको हो ।

तर नयाँ लगानीकर्ताको पक्षमा बोल्नेहरुले यसअघि आफैं लिन खोजेका व्यक्तिहरुको समूह नै अख्तियार र सरकारमा पुगेपनि कानूनी प्रकृया पूरा गर्न नयाँ लगानीकर्ता तयार भएकाले केही समस्या नपर्ने दाबी गरेका छन् ।

तर यो रिसोर्टले सार्वजनिक जग्गा कब्जामा गरेको विषयमा रुपन्देही जिल्ला अदालतले संरचना हटाउन गरेको फैसला कार्यान्वयनमा नआई विदेशमा गरिएको किनबेचका विषयमा सरकार र अख्तियारले छानबिन अगाडि बढाएका हुन् । सरकारले सम्बद्ध निकायलाई के कसरी काम भएको हो भनेर छानबिन थालेको जनाएको छ ।

त्यसैगरी अख्तियारले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरी आयोगमा दर्ता भएको उजुरीका आधारमा यस सम्बन्धमा के कसो भएको हो तत्काल जानकारी उपलब्ध गराउन अनुरोध गरेको पत्र नेपाल प्रेसलाई प्राप्त भएको छ । यसैगरी, टाइगर प्यालेसमा लगानी गरेको सिल्भर हेरिटेजले लामो समयदेखि रिसोर्ट बिक्री गर्ने प्रयास गरेपनि सकेको थिएन ।

७÷८ महिनादेखिको प्रयासपछि यो रिसोर्ट किन्ने प्रक्रिया सम्भव भएको अध्यक्ष सुवेदीको भनाइ छ ।

‘सरकारलाई बुझाउनुपर्ने दायित्व, बैंकको ऋण, कर्मचारीलाई बुझाउनुपर्ने रकमसमेत सबैको दायित्व सकारेका छौं, कूल लगानी पाँच अर्ब रुपैयाँभन्दा बढी हुन्छ, हामी अदालतको आदेशलाई सम्मान गरेरै अगाडि जान्छौं, स्थानीय सरकारले यसअघि गरेका सहमतिलाई पनि खोज्छौं’, सुवेदीले भने ।

सुवेदीले अमेरिकामा हायात, होलिडे इन, ह्याम्पटन, विज्डमलगायत ठूला अन्तर्राष्ट्रिय चेन ब्रान्डका होटेलहरु सञ्चालन गरिरहेका छन् । उनीलगायतको समूहले अमेरिकाको सिकागो, वासिंगटन डिसी, नर्थ क्यारोलिना, लुजियानालगायत ठाउँमा होटेल चलाइरहेका छन् ।

हिमालयन टाइगरमा सुवेदी, गैरआवासीय नेपाली संघका एक जना वर्तमान अध्यक्ष कुल आचार्य, क्यानडा च्याप्टरका निवर्तमान अध्यक्ष दीपक गौतम, डा. केशव पौडेललगायतको लगानी रहेपनि उनीहरुले सार्वजनिक गरेका छैनन् । अध्यक्ष सुवेदीले भने, ‘म लगायत क्यानडा, युरोप र अमेरिका बस्ने साथीहरुको समूह छ ।’

अमेरिकामा १२/१५ वर्षदेखि होटल व्यवसायमा गरेको अनुभव नेपालमा उपयोग गर्ने सोचका साथ आफू आएको उनको भनाइ छ । नेपालमा अदालतको आदेशलगायत केही जटिलताका कारण आफूहरुले हङकङमा खरिदबिक्री गरे पनि यहाँ तिर्नुपर्ने सबै दायित्व तिर्ने उनले नेपाल प्रेसलाई बताए ।

‘ठूलो नाफा गरौंला भनेर आएका होइनौं, लगानीका क्षेत्र उतै धेरै थिए, यति ठूलो योजना डुब्न नदिऔं भन्ने हो, विदेशमा काम गरियो, त्यसबाट मातृभूमिलाई केही गरौं भनेर हो, सरकारलाई तिर्नुपर्ने सबै दायित्व तिरेर व्यवसाय गर्नेछौं, नेपालमा लगानीको वातावरण बनाउने मुख्य उद्देश्य हो’, उनले भने ।

अस्ट्रेलियाको सिल्भर हेरिटेज ग्रूपले करिब ५ अर्ब लगानीमा २०७४ सालमा यो रिसोर्ट सञ्चालनमा ल्याएको थियो । तर विदेशी लगानीकर्ता र नेपाली साझेदारबीच केही विवाद र पटक पटकका अन्य मुद्दाले रिसोर्ट राम्रोसँग सञ्चालन हुन सकेन भने क्यासिनो पनि चलेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *