चिया बगानका श्रमिकको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह – Nepal Press

चिया बगानका श्रमिकको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चिया बगानमा कार्यरत श्रमिकको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।

झापा जिल्लाका चिया बगानमा कार्यरत श्रमिक श्रम ऐन तथा नियमावलीबमोजिम न्युनतम पारिश्रमिक लगायतका सेवा सुविधा नपाएको भन्दै असार ३१ गतेदेखि आन्दोलनमा रहेको अवस्थाप्रति ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगको कोशी प्रदेश कार्यालयले अनुगमन गरिरहेको जनाउँदै चिया बगानमा कार्यरत श्रमिकले न्यूनतम पारिश्रमिक एवम् सामाजिक सुरक्षा कोष ऐन, २०७४ अनुसार पाउनुपर्ने सेवा सुविधा पाउन नसकेको जनाएको छ ।

यस्तै, करिब ८० प्रतिशत महिला श्रमिक कार्यरत रहेकोमा प्रचलित कानुन अनुसारको सुत्केरी बिदा नपाएको, गाँस, बास, कपास, खानेपानी, शौचालय, शिक्षा, स्वास्थ्यको उपयुक्त प्रबन्ध नरहेको, रोजगारदाताले तलब, भत्तालगायतका सेवा सुविधा समयमा उपलब्ध नगराएको पनि विज्ञप्तीमा उल्लेख छ ।

बिषादीका कारण श्रमिक दीर्घ रोगी बन्नु परेको, न्यूनतम तलब दुई–दुई वर्षमा पुनरावलोकन भई वृद्धि हुनुपर्नेमा नभएको, सेवानिवृत्त श्रमिकले पाउनुपर्ने सेवा सुविधा नपाएको, राजीनामा वा मृत्यु भई सेवाबाट बाहिरिँदा उपदान वापत पाउनुपर्ने रकम प्राप्त गर्न वर्षाैं कुर्नुपर्ने बाध्यता रहेको, पेशागत स्वास्थ्य र सुरक्षाको उचित प्रबन्ध हुन नसकेको आयोगले हालै झापा तथा इलामका चिया बगानमा गरेको अनुगमनबाट पाइएको आयोगका सहसचिव एवम प्रवक्ता डा.टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

आयोगले श्रमिकको अधिकारको सम्मान गर्दै न्यूनतम तलब सुविधाको आवधिक पुनरावलोकन गर्न, पेशागत स्वास्थ्य र सुरक्षाको उचित व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा चिया बगानका श्रमिकलाई आबद्ध गर्न, उपदानवापत श्रमिकले पाउने रकम समयमै उपलब्ध गराउने व्यवस्था गर्न र वार्ताको माध्यमबाट आन्दोलनरत श्रमिकका उचित माग तत्काल सम्बोधन गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *