बैशाखयता विपद्मा परेर १३० जनाको मृत्यु, ८९ करोडभन्दा बढी आर्थिक क्षति – Nepal Press

बैशाखयता विपद्मा परेर १३० जनाको मृत्यु, ८९ करोडभन्दा बढी आर्थिक क्षति

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मकवानपुरमा एक जनाको मृत्यु भएको हो भने ६ जना बेपत्ता भएका हुन् ।

मकवानपुरसहित देशका विभिन्न जिल्लामा गरी १० स्थानमा पहिरो गएको छ । तीन स्थानमा भारी वर्षा, एक स्थानमा बाढी र एक स्थानमा हावाहुरी आएको छ । यस्तै चार स्थानमा आगलागी भएको प्राधिकरणले छ । पछिल्लो २४ घण्टाकै अवधिमा आगलागीबाट प्यूठानमा एक जना र हावाहुरीबाट बर्दियामा एक जना गरेर थप दुई जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार गत बैशाखयता विपद्का विभिन्न घटनामा परेर १३० जनाको मृत्यु भएको छ । जसमा सबैभन्दा बढी पहिरोमा परेर ३२ जनाको मृत्यु भएको हो । दोस्रोमा चट्याङ लागेर ३० जनाको मृत्यु भएको छ ।

यस्तै आगलागीबाट १८, जनावरको आक्रमणबाट १३, हिम पहिरोमा परेर १२ र बाढीबाट नौ जनाको मृत्यु भएको छ । वन डढेलोबाट ५, अन्य गैरप्राकृतिक विपद्बाट ३, उच्च उचाइबाट ४, सर्पदंशबाट २, भारी वर्षाबाट १ र हुरीबतासबाट एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

विपद्मा परेर ३४ जना बेपत्ता

यसै अवधिमा विपद्मा परेर ३४ जना बेपत्ता भएका छन् । जसमा सबैभन्दा बढी बाढीमा परेर २०, पहिरोमा परेर १३ र डुंगा पल्टिएर एक जना बेपत्ता भएका छन् ।

यस अवधिमा ४७५ जना घाइते भएका छन् । जसमा सबैभन्दा बढी आगलागीमा परेर १४३ जना घाइते भएको प्राधिकरणले जनाएको छ । दोस्रोमा चट्याङ लागेर ११८ जना घाइते भएका छन् । जनावरको आक्रमणबाट १११, पहिरोमा परेर ३९, हुरीबतासबाट १६, भारी वर्षामा परेर ११, वन डढेलोमा परेर १२ र उच्च उचाइका कारण नौ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार बाढीमा परेर ६, सर्पदंशबाट ४, अन्य गैरप्राकृतिक विपद्मा परेर ४ र हिम पहिरोमा परेर दुई जना घाइते भएका छन् ।

चार हजार ६३१ परिवार प्रभावित

यसै अवधिमा विभिन्न विपद्बाट चार हजार ६३१ परिवार प्रभावित भएका छन् ।

जसमा सबैभन्दा बढी पहिरोबाट एक हजार ८१८ जना प्रभावित भएका छन् । आगलागीबाट एक हजार ६०२ परिवार प्रभावित हुँदा बाढीबाट ३०१, चट्याङबाट २३९, हुरी बतासबाट २१६, भारी वर्षाबाट १९७, उच्च उचाइबाट १३, सर्पदंशबाट ६, अन्य गैरप्राकृतिक विपद्बाट सात, भूकम्पबाट ३, हिम पहिरोबाट १२, वन डढेलोबाट १७ र डुंगा पल्टिँदा एक परिवार प्रभावित भएका छन् ।

८९ करोडभन्दा बढी आर्थिक क्षति

यसै अवधिमा विभिन्न विपद्बाट अनुमानित ८९ करोडभन्दा बढी आर्थिक क्षति भएको छ । प्राधिकरणका अनुसार ८९ करोड ४३ लाख २५ हजार ६६० रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको हो । बैशाख यतामात्रै विपद्का दुई हजार ३३४ घटना भएका छन् । जसमा सबैभन्दा बढी आगलागीका घटना एक हजार २१५ र पहिरोका ३८८ घटना भएका छन् ।

प्राधिकरणका अनुसार चट्याङका १६२, वन डढेलोका १३१, बाढीका ११२, जनावर आक्रमणका १०९, हुरी बतासका १०६, भारी वर्षाका ८०, भूकम्पका तीन, उच्च उचाइका १३, सर्पदंशका पाँच, अन्य गैरप्राकृतिक विपद्का पाँच, हिम पहिरोका चार र डुंगा पल्टिएको एउटा घटना भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *