जीर्ण पुलमा टिकटकरहरूको लस्कर – Nepal Press

जीर्ण पुलमा टिकटकरहरूको लस्कर

कैलाली । गए राति पसेको झरीका कारण कैलालीको गोदावरी नदीमा रहेको पुल भत्किन थालेको छ । स्थानीय प्रशासनले पुल जोखिममा रहेको र जति बेला पनि भत्किन सक्ने भन्दै प्रवेशमा रोक लगाउन निर्देशन दिइसकेको छ ।

मंगलबार निरीक्षण गर्न पुगेका कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख तथा प्रतिनिधिहरूले पुल धरापमा रहेको भन्दै प्रवेशमा रोक लगाउन भनेका थिए । तर, मङ्गलबार साँझसम्म पुलमा सयौं युवायुवतीहरूको घुइँचो लाग्यो ।

प्रशासनले धरापमा रहेको भनेको पुलमा अहिले पनि टिकटक बनाउने र फोटो खिच्नेहरुको भीड लागेको छ । स्थानीयले पुल जति बेला पनि भत्किन सक्ने भन्दै भीड रोक्न आग्रह गरेका छन् ।

‘पुल भत्किन केही इन्चमात्रै बाँकी छ । जति बेला पनि भत्किन सक्छ’, राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य नवराज आचार्यले भने, ‘भीड नियन्त्रण नगर्ने हो भने ठूलो मानवीय क्षति हुनसक्छ ।’

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने काठे पुल जीर्ण भएपछि नयाँ मोटरेवल पुल निर्माण गरिएको थियो । सवारी चलाउन निषेध गरिएको उक्त पुलमा रङरोगन गरेपछि पछिल्लो समय फोटो खिच्ने र टिकटक बनाउनेहरूको रोजाइमा परेको थियो ।

सोमबारको बाढीले जग रहेको क्षेत्र कटान गरेपछि पुल जोखिममा परेको हो । जोखिमपूर्ण र जीर्ण पुलमा जान नदिन प्रहरीले पनि नरोकेको स्थानीयको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले काँडे तार लगाएर त्यहाँ व्यक्तिको आवागमन रोक्नुपर्ने र उक्त काम स्थानीय तहले गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *