क्विन्टल सुन तस्करी प्रकरणमा मिडियासँग बोल्न सीआईबीलाई रोक, आईजीपीले केन्द्रीय प्रवक्तालाई दिए जिम्मेवारी – Nepal Press

क्विन्टल सुन तस्करी प्रकरणमा मिडियासँग बोल्न सीआईबीलाई रोक, आईजीपीले केन्द्रीय प्रवक्तालाई दिए जिम्मेवारी

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)लाई मिडियासँग बोल्न रोक लगाएको छ ।

प्रहरी महानीरिक्षक (आईजीपी)को प्रत्यक्ष निर्देशनमा चल्ने सीआईबीको यो अनुसन्धानबारे बोल्ने जिम्मेवारी केन्द्रीय प्रवक्ता कुवेर कडायतलाई दिइएको छ । स्रोतका अनुसार सुन प्रकरणबारे कडायतले मात्र बोल्नेछन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धान सीआईबीले हेर्न निर्देशन दिएका थिए । गृहमन्त्री नारायणकाजी श्रेष्ठ, आईजीपी बसन्तबहादुर कुँवर र सीआईबी प्रमुख किरण बज्राचार्यलाई बोलाएर उक्त निर्देशन दिएका थिए ।

सीआईबीले सुन तस्करी र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । सीआईबीले एसपी सञ्जयसिंह थापाको संयोजकत्वमा एक डीएसपी र एक इन्स्पेक्टरसहितको टोली बनाएर सोमबारदेखि औपचारिक रुपमा अनुसन्धान सुरु गरेको छ ।

भन्सारको सामानका रुपमा ल्याइएको ब्रेक सुमा सुन लुकाएर ल्याएको पाइएपछि राजस्व अनुसन्धान विभागले भन्सार पास भएर बाहिरिरहेको अवस्थामा सामानसहित मानिसहरुलाई नियन्त्रणमा लिएको थियो । विभागले बरामद सामग्रीमा झण्डै एक क्विन्टल सुन रहेको आँकलन गरेको छ ।

घटनामा पक्राउ परेका मानिसहरुसँग उच्च राजनीतिक तहमा रहेका नेताहरुको पनि कनेक्सन देखिएपछि प्रहरी प्रधान कार्यालयले गोप्य रुपमा अनुसन्धान गर्न निर्देशन दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर