सिद्धार्थ राजमार्ग, लमही-घोराही खण्ड एकतर्फी सञ्चालन हुँदा प्यूठानमा अवरोध उस्तै – Nepal Press

सिद्धार्थ राजमार्ग, लमही-घोराही खण्ड एकतर्फी सञ्चालन हुँदा प्यूठानमा अवरोध उस्तै

रुपन्देही । सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडकखण्ड एकतर्फीरूपमा सञ्चालनमा आएको छ । सिद्धबाबा सुरुङमार्गको पहिरो हटाएर एकतर्फीरूपमा सवारी आवागमन सुरू गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहानैदेखि अवरुद्ध तिनाउ गाउँपालिका वडा नं ३ रामपिथेकस पार्कस्थित सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमाथि ढुंगासहितको पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो ।

लेदो र ढुंगासहितको पहिरो हटाउन सुरुङमार्ग आयोजनाको मेसिन प्रयोग गरिएको थियो । हाल एकतर्फीरूपमा सवारी पास हुनेगरी सडक खुलाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।

पहिरो हटाएपछि बिहानैदेखि सडकमा अलपत्र परेका यात्रुहरू गन्तव्यमा लागेका छन् । हालका लागि पहिरो पन्छाएर सवारी सञ्चालन भएपनि पहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ । पहिरोले सुरुङमार्गको उत्तर र दक्षिण दुवैतर्फको प्रवेश विन्दु पुर्नुका साथै लगातार खसिरहेको छ ।

यसैगरी दाङको लमही घोराही सडक खण्ड पनि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । रातिदेखि सो सडकखण्डमा खसेको ठूला पहिरोलाई केही हटाएर एकतर्फी रूपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तर, ६ दिनदेखि अवरुद्ध भालुवाङ-प्यूठान सडक खण्ड सोमबार केही समय एकतर्फी खुलेपनि रातिदेखि पुनः अवरुद्ध छ ।

गर्जेनीमा गएको ठूलो पहिरोले यो क्षेत्रको मुख्य सडकखण्ड रोकिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर