पोखरा महानगरले लामेआहालमै मंगलबारदेखि फोहर लैजाने, अवरोध भए बल प्रयोग गर्ने – Nepal Press

पोखरा महानगरले लामेआहालमै मंगलबारदेखि फोहर लैजाने, अवरोध भए बल प्रयोग गर्ने

पोखरा । पोखरा महानगरपालिकाले मंगलबारदेखि फोहोर उठाउने भएको छ । महानगरले गत १२ दिनदेखि नउठेको फोहोर मंगलबारदेखि उठाउने तयारी भइरहेको महानगरपालिकाले जनाएको छ ।

महानगरले फोहोर उठाएर पोखरा महानगरपालिका ३२ लामेआहालमा लगेर फोहोर फाल्ने भएको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षमा बसेको बैठकले लामेआहालमा लगेर व्यवस्थापन गर्ने निर्णय गरेको महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाले जानकारी दिए ।

फोहोर व्यवस्थपानमा आवश्यक सुरक्षा प्रदान गर्ने निर्णय जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ । सुरक्षा प्रदान भनिए पनि खासमा अवरोध भए बल प्रयोग गर्ने अर्थात प्रहरी परिचालन गर्ने हो । तर, महानगरपालिका प्रवक्ता तिमिल्सिनाले स्थानीयबाट अवरोध नहुने र बल प्रयोग गर्नु नपर्ने विश्वास व्यक्त गरे ।

महानगरपालिकाकातर्फ गरिएका १६ बुँदे प्रतिबद्धता अक्षरश पालना हुने पनि महानगरका प्रवक्ता तिमिल्सिनाले बताए । ‘फोहोर व्यवस्थापन गर्दा दिनदिनै माटोले पुर्ने प्रतिबद्धता झनै कडाइका साथ पालना गरिनेछ,’ उनले भने, ‘स्थानीयसँग गरिएका कुनै पनि प्रतिबद्धता पालना गर्न महानगरपालिकाबाट कमजोरी हुने छैन ।’

उच्च अदालत पोखराले आइतबार महानगरलाई लामेआहालमा फोहोर फाल्न कानूनी बाटो खुला गरेको थियो । स्थानीय रविन केसीसहित ३ जनाले लामेआहालमा फोहोर फाल्न रोक्न अन्तरिम आदेश माग गर्दै पोखरा महानगरपालिकाविरुद्ध उच्च अदालत पोखरामा साउन ११ गते रिट दायर गरेका थिए ।

उच्चले आइतबार केसी लगायतको रिटमा अन्तरिम आदेश दिनु नपर्ने ठहर्याएको छ । न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र ऋषि राजभण्डारीको संयुक्त इजालासले निवेदकको अन्तरिम आदेश दिनु नपर्ने आदेश गरेको थियो ।

उनीहरुले पुसदेखि लामेआहाल भन्ने ठाउँको सेती नदीमा महानगरले फोहोर विसर्जन गदा फैलिएको दुर्गन्धले यहाँ बसिसक्नु नभएको र स्वास प्रश्वासनको रोगदेखि लिएर हैजा जस्तो संक्रामक रोगले यहाँका बासिन्दा पीडित भएको रिट निवेदनमा उल्लेख गरेका थिए ।

लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा महानगरले पुस दोस्रो सातादेखि फोहोरमैला व्यवस्थापन गर्दै आएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि उडान र अवतरणमा समस्या भएपछि पोखरा १४ बाच्छेबुडुमा रहेको ल्यान्डफिलबाट सारेर अस्थायी रुपमा पोखरा महानगरपालिका ३२, लामेआहालको सेती नदी किनारमा फोहोर फाल्न थालिएको थियो ।

स्थानीयले ल्यान्डफिलमा सही ढंगले फोहोर व्यवस्थापन नभएर दुर्गन्ध फैलिएको तथा सडक कच्ची हुँदा बर्खामा हिलो र हिउँदमा धुलो भएर आफूहरुले सास्ती खेप्नुपरेको भन्दै फोहोर ल्याउन अवरोध गरेका हुन् ।

केही दिनअघि मात्रै महानगरले सम्झौताअनुसार फोहोर व्यवस्थापन नगरेको भन्दै फोहोर फाल्न रोक लगाएका महानगरपालिका ३२, लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल साइटमा स्थानीयले वार्ता गर्न गएका मेयरसहितका जनप्रतिनिधिलाई विरोध जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *