लम्पीस्किन भ्याक्सिन खरिदमा चलखेल : निथलिङको ठाउँमा ‘गट पक्स’ ल्याउन मापदण्ड नै संशोधन – Nepal Press

लम्पीस्किन भ्याक्सिन खरिदमा चलखेल : निथलिङको ठाउँमा ‘गट पक्स’ ल्याउन मापदण्ड नै संशोधन

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मापदण्ड नै संशोधन गरेर ‘गटपक्स’ ल्याउन अनुमति दिने निर्णय गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट लम्पीस्किन रोगका लागि ‘गटपक्स’ भ्याक्सिन ल्याउने अनुमति करिब एक साताअघि दिइएको मन्त्रालयका वरिष्ठ पशु चिकित्सक तथा लम्पीस्किनका फोकल पर्सन डा. तपेन्द्र प्रसाद वोहराले जानकारी दिए । अब अयातकर्ताले जुनसुकै देशबाट ‘गटपक्स’ भ्याक्सिन ल्याउन पाउनेछन् ।

लम्पीस्किन महामारीले देशभर हजारौँ गाई भैँसी मरिरहेका बेला सरकारले किसानलाई राहत दिनुको साटो भ्याक्सिन खरिदमा समेत कमिसनका लागि मापदण्डविपरीतको प्रक्रिया अघि बढाइएको हो ।

लम्पिस्किन रोगका लागि विश्व स्वास्थ्य संगठनले ‘नेथलिन स्ट्रेन’ भ्याक्सिन प्रमाणित गरेको छ । नेपालले पनि यही भ्याक्सिन प्रयोग गर्दै आइरहेको छ ।

‘गटपक्स’ भ्याक्सिन नेपालमा हुँदै नभएको रोगका लागि हो । यो भ्याक्सिन भेडाबाख्राको लागि मात्र भएको विज्ञहरूले बताएका छन । जबकि अहिले नेपालमा भेडा बाख्रामा गट पक्स रोग देखा परेकै छैन ।

‘गटफक्स नै नभएको देशमा भ्याक्सिन आउँदा भाइरस पनि सँगै आउने भएकाले फेरि यो रोग लाग्यो भने ८० प्रतिशतसम्म मृत्युदर रहने एक विज्ञले बताए । हामीसँग भएका भेडा बाख्रा अब सबै सकिने भए । त्यसको जिम्मा कसले लिन्छ’, ती विज्ञले नेपाल प्रेससँग भने ।

मन्त्रालयका वरिष्ठ चिकित्सक डा. टपेन्द्र बोहरा अफ्रिका, चाइना, इण्डियामा लम्पीस्किनका लागि गटपक्स भ्याक्सिन लगाउँदा प्रतिरक्षा क्षमता बढेको पाइएकाले नेपालमा पनि यो भ्याक्सिन ल्याउन अनुमति दिइएको दाबी गर्छन् ।

यो पनि पढ्नुस् : लम्पीस्किन भ्याक्सिन खरिदमा चलखेल, निथलिङको ठाउँमा किन ल्याइँदैछ ‘गट पक्स’ ?

जैविक पदार्थसम्बन्धी भेटनरी मापदण्ड २०६३ अनुसार जुन रोग र स्ट्रेन नेपालमा विद्यमान छैन त्यस प्रकारको भ्याक्सिन आयात गर्न पाइँदैन । तर, यही मापदण्डलाईं सच्याउँदै भ्याक्सिन आयात गर्न अनुमति दिने बाटो पशुसेवा विभागलाई खुला भएको छ ।

विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार अब गटपक्स भ्याक्सिन ल्याउन चाहने आयातकर्ताले नेपाल एकद्वार राष्ट्रिय प्रणालीमा आयात गर्न आवेदन दिन सक्नेछन् । सो आवेदन विभागको प्रशासकले हेरेर कागजात पुगेको अवस्थामा मात्र स्वीकृत दिने ढकालले बताए । विभागकै आयात निर्यात प्राविधिक उपसमितिले आवेदन भेरिफाइ गरेर उपयुक्त भए सिफरिस समितिमा आयात गर्न दिन सिफरिस गर्नेछ । अनुमति पाएका आयातकर्ताले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार गटपक्स उत्पादन गर्ने जुनसुकै देशबाट भ्याक्सिन ल्याउन पाउँछन् ।

गटपक्स ‘हिटेरेलोगस’ भ्याक्सिन हो भने नेथलिन ‘होमोलोगस’ भ्याक्सिन हो । कान्तिपुर भेट डिस्टब्युटरले तान्जानियाबाट, बनदेवी भेटले जोर्डन र लोटस भेटले टर्कीबाट यो भ्याक्सिन ल्याउँदै आएका छन ।
मन्त्रालयका अनुसार ११ लाख हाराहरी गाईभैँसीमा लम्पिस्किन रोग देखिएको छ । पहिला पहाडी भेगमा बढी भएको यो रोग पछिल्लो समय तराइमा धेरै देखिन थालेको मन्त्रालयले जनाएको छ ।

लम्पीस्किन रोग विशेष गरी गाई, गोरु, राँगा, भैँसी, पडापाडी, बाच्छबाच्छीमा लाग्छ । यो रोगबाट उन्नत नश्लका बढी उत्पादन दिने पशु प्रभावित हुन्छन । हालसम्म प्राप्त तथ्यहरूका आधारमा यो रोग भेडा बाख्रामा लागेको देखिएको छैन । यो रोग पशुबाट मान्छेमा सरेको प्रमाण पनि भेटिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर