ललिता निवास प्रकरण : बुढेसकालमा कानूनको बुट, दोषी ठहरिए सजायमा होला त छुट ? – Nepal Press

ललिता निवास प्रकरण : बुढेसकालमा कानूनको बुट, दोषी ठहरिए सजायमा होला त छुट ?

काठमाडौं । ललिता निवास प्रकरणमा पदमा रहँदा विभिन्न गल्तीको आरोपमा यतिबेला बुढेसकाल बिताइरहेकाहरू धमाधम पक्राउ परिरहेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी ओहोदामा बसेकाह, विचौलियाहरू र सरकारी जग्गा व्यक्तिका नाममा खरिद गरेकाहरूलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये केही राम्रोसँग हिड्नसमेत सक्दैनन् । बुढेसकाल बिताइरहेका अधिकांश अस्पतालमा रहेर उपचार गरिरहेका छन् । उनीहरूमा सुगरदेखि क्यान्सरसम्मको समस्या रहेको सीआईबी स्रोतले जनाएको छ ।

सीआईबीले अहिले सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । ६० दिनसम्म अनुसन्धान गरेपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने छ ।

सरकारी वकिलले प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र तयार गरी अदालतमा मुद्दा दायर गर्नेछ । त्यसपछि अदालतले प्रारम्भिक सुनुवाइका क्रममा फैसला नहुँदासम्म कारागार पठाउने कि, धरौटीमा छाड्ने वा साधारण तारेखमा राख्ने भन्ने मध्ये एउटा आदेश गर्नेछ । फैसला गर्दा कसुर ठहरेमात्र प्रतिवादीहरू दोषी मानिनेछन् ।

ज्येष्ठ नागरिकको हकमा दोषी ठहर भएपनि कानूनले सजाय छुटको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को दफा १२ मा कैद सजायमा छुट दिन सकिने व्यवस्थाबारे उल्लेख छ । त्यसमा सरकारवादी भई चलेको कुनैपनि मुद्दामा कैद सजाय पाई कैद भोगिरहेको ज्येष्ठ नागरिकलाई निजको उमेर र कसुरको अवस्थाबमोजिम छुट हुने सजायको मात्रा कायम हुने उल्लेख छ ।

जसअनुसार ६५ वर्ष पूरा भई ७० वर्ष ननाघेको ज्येष्ठ नागरिकलाई २५ प्रतिशतसम्म, ७० वर्ष पूरा भई ७५ वर्ष ननाघेको ज्येष्ठ नागरिकलाई ५० प्रतिशतसम्म र ७५ वर्ष पुरा भएको ज्येष्ठ नागरिकलाई ७५ प्रतिशतसम्म कैद सजाय छुट हुने उल्लेख छ।

सोही दफाको उपदफा २ मा कैद सजाय पाएको अशक्त ज्येष्ठ नागरिक वा ७५ वर्ष पुरा गरेको ज्येष्ठ नागरिकलाई अदालतले कसुरको गाम्भिर्यता हेरी कारागारमा नराखी हेरचाह केन्द्रमा राख्न आदेश दिन सक्ने व्यवस्था उल्लेख छ । कानूनले ६० वर्ष नाघेको नेपाली नागरिकलाई ज्येष्ठ नागरिकका रूपमा परिभाषित गरेको छ ।

हाल सीआईबीको हिरासतमा ६९ वर्षीय सुधीरकुमार शाह, ६८ वर्षीय मीनबहादुर गुरुङ, ७५ वर्षीय लोकहरी घिमिरे, ६२ वर्षीय ध्रुवप्रसाद अर्याल, ७३ वर्षीय बाबुराजा महर्जन, ६८ वर्षीय बालकृष्ण श्रेष्ठ, ८० वर्षीय धर्मप्रसाद गौतम, ७५ वर्षीय कलाधर देउजालगायत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर