गाडी एसेम्बलिङ गर्न नेपालमा २३ कम्पनी दर्ता- कोरियन कम्पनी मोट्रेक्स मोडियो विद्युतीय सवारी उत्पादनतर्फ – Nepal Press

गाडी एसेम्बलिङ गर्न नेपालमा २३ कम्पनी दर्ता- कोरियन कम्पनी मोट्रेक्स मोडियो विद्युतीय सवारी उत्पादनतर्फ

काठमाडौं । पछिल्लो समय विश्वभर नै विद्युतीय गाडीको प्रयोग बढ्दै गएको छ । नेपालमा पनि पछिल्लो समय विद्युतीय गाडीको आयात बढेको छ । विद्युतीय गाडीको प्रयोग गर्दा खर्च कम हुने र वातावरणलाई पनि फाइदा गर्ने भएकाले विश्वभर नै यसको प्रयोग बढेको हो ।

५ वर्षअघि नेपालमा गाडी एसेम्बलिङ गर्न भनेर लगानी सम्झौता गरेको कोरियन कम्पनी मोट्रेक्सले अब नेपालमा विद्युतीय गाडीको एसेम्बलीङ गर्ने भएको छ । सुरुमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी उत्पादन गर्न भनेर नेपाल आएको कम्पनी अब विद्युतीय गाडी उत्पादन गर्नेतर्फ अघि बढेको छ ।

आफूहरुले नेपालमा विद्युतीय गाडी उत्पादन गर्न आग्रह गरेपछि कम्पनी तयार भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालप्रेसँग बताए ।

उनले भने, ‘कोरियाबाट नेपालमा गाडी उत्पादन गर्छु भनेर आएको कम्पनीले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । हामीले नै अब विश्व बजारमा विद्युतीय गाडीको माग भएको र विद्युतीय गाडी उत्पादन गर्न आग्रह गरेका थियौं । त्यसैअनुसार मोट्रेक्स कम्पनीले विद्युतीय गाडी उत्पादन गर्छु भनेको छ ।’

उसले नेपालमै गाडीमा प्रयोग हुने विभिन्न वस्तुहरु उत्पादन गर्ने कार्यकारी अधिकृत भट्ट बताउँछन् ।

मौद्रिक नीति र अन्य आर्थिक ऐनले लगानी गर्न गरेर पछि समस्या पर्न सक्ने भन्दै सुरुमै अन्तःशुल्क तोकिएपछि मात्रै गाडी उत्पादन गर्ने कम्पनीले बताउँदै आएको छ ।

कम्पनीले नेपालमा विद्युतीय गाडी उत्पादन गर्न अन्तःशुल्क कति हो अहिले नै तोक्नुपर्ने भनेको छ । त्यसैअनुसार अर्थ मन्त्रालयसँग छलफल भइरहेको बोर्डले जनाएको छ ।

सरकारले केही वर्षअघि विश्वका १० ठूला गाडी निर्माता कम्पनीबाट नेपालमा गाडी उत्पादन गर्ने बताएको थियो । लगानी बोर्डले २०७५ सालमै मोट्रेक्सलाई नेपालमा गाडी बनाउने अनुमति दिएको थियो । अनुमति दिएको ५ वर्षबीच सरकार र मोट्रेक्सबीच विभिन्न चरणमा छलफल भएको थियो । कम्पनीले मोतीपुर औद्योगिक क्षेत्रमा आफ्नो प्लान्ट राख्ने बताएको छ ।

नेपालमा उक्त कम्पनीको गाडी उत्पादनका लागि कम्पनीका पदाधिकारी र लगानी बोर्डका सीईओ, उद्योग, अर्थ र कानून मन्त्रालयका सहसचिवहरुको वार्ता टोलीसमेत बनेको छ ।

१० अर्ब ५४ करोड अनुमानित लगानीसहितको प्लान्ट निर्माण गर्न आवश्यक जग्गा उपलब्ध गराउन कम्पनीले बोर्डसँग बारम्बार छलफलसमेत गरिरहेको छ । मोट्रेक्सले उत्पादन अनुमति पाएपछि धेरै विदेशी कम्पनीले नेपालमा रुचि देखाएका छन् । जसअनुसार उद्योग विभागमा धेरै कम्पनी दर्ता पनि भएका छन् ।

उद्योग विभागका अनुसार अहिलेसम्म २३ वटाभन्दा धेरै गाडी एसेम्बलिङ गर्ने कम्पनी दर्ता भएका छन् । यीमध्ये १५ वटा विदेशीमा कम्पनी लगानी रहेको छ । २३ मध्ये धेरैले विद्युतीय मोटरसाइल र स्कुटर उत्पादनको लक्ष्य राखेका छन् ।

नेपालमा गाडी उद्योग सञ्चालन गर्न १२ अर्ब ६२ करोड ५५ लाख लगानी गर्ने भन्दै उद्योग दर्ता भएका छन् । त्यसमध्ये विदेशी कम्पनीले १० अर्ब ४४ करोड ५० लाख लगानी गर्ने भनिएको छ ।

नेपालमा हाल बजाज, टीभीएस, बेनली, रोयल इन्फिल्ड पेट्रोलियम बाइकहरु एसेम्बल हुँदै आएका छन् । विदेशबाट पार्टपुर्जा ल्याएर यी बाइकहरु नेपाल एसेम्बलिङ गरिरहेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर