ग्लोबल टी–२० फाइनल : कथाले एन्ड्रे रसेल मागेपछि दीपेन्द्रको विकेट ‘बलिदान’ – Nepal Press

ग्लोबल टी–२० फाइनल : कथाले एन्ड्रे रसेल मागेपछि दीपेन्द्रको विकेट ‘बलिदान’

कुरा नबुझेर विपक्षी टीमले अम्पायर समक्ष गरे ‘प्रोटेस्ट’

काठमाडौं । नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरीले अन्तर्राष्ट्रिय फ्रेञ्चाइजमा पहिलो सहभागितामा नै सफलताको स्वाद चाखेका छन् । ग्लोबल टी–२० मा उनी आबद्ध मोन्ट्रियल टाइगर्सले सर्रे जगुअर्सलाई रोमाञ्चक प्रतिस्पर्धामा ५ विकेटले हराउँदै मोन्ट्रियलले उपाधि उचाल्यो ।

मोन्ट्रियललाई उपाधिसम्म पुर्‍याउन दीपेन्द्रले अहम् भूमिका खेलेका छन् । उनले हरेक म्याचमा महत्त्वपूर्ण साझेदारीहरू गरेका थिए । तर, आफैँले ठूलो स्कोर बनाउन वा म्याचविनिङ पारी खेल्न भने चुके । प्रायः सकसपूर्ण अवस्थामा ब्याटिङमा उत्रिएका दीपेन्द्रले ठूलो सट पनि ट्राई गरेनन् ।

अघिल्ला म्याचहरूमा जस्तै हिजो पनि दीपेन्द्र क्रिजमा आउँदा टिम संघर्षपूर्ण अवस्थामा थियो । कठिन पिचमा माथिल्लो क्रमका खेलाडीहरुले खुलेर सट खेल्न सकिरहेका थिएनन् । क्रिस लीनजस्ता विष्फोटक ब्याट्सम्यान पनि १०० भन्दा कमको स्ट्राइक रेटमा ब्याटिङ गर्न बाध्य थिए । त्यसैले १३१ रनको सानो लक्ष्य पनि पहाड बनिरहेको थियो ।

मोन्ट्रियलले ११.४ ओभरमा ६१ रन बनाउँदा चौथो विकेट गुमाएपछि क्रिजमा आए दीपेन्द्र । त्यसबेला टीमलाई जितका लागि ५० बलमा ७० रन चाहिएको थियो । सहज पीच भएको भयो यो त्यति चुनौतीपूर्ण अवस्था होइन । तर, प्रत्येक रनका लागि संघर्ष गर्नुपर्ने अवस्थामा खेलमा जगुअर्सको हात माथि थियो ।

दीपेन्द्रले अघिल्ला म्याचहरूमा जस्तै फाइनलमा पनि आक्रामकता देखाउन चाहेनन् । उनले साझेदारी निर्माणमा ध्यान दिए । अर्को इन्डमा वेस्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान शेरफन रदरफोर्ड थिए भने दीपेन्द्रपछि अर्का वेस्ट इन्डियन एन्ड्रे रसेल पालो पर्खिरहेका थिए, जो टी–२० क्रिकेटमा विश्वकै खतरनाक ब्याट्सम्यानको सूचीमा पर्छन् । त्यसैले दीपेन्द्रको भूमिका भनेको सिंगल–डबल लिएर साझेदारी अघि बढाउनु नै थियो । उनले त्यही गरे ।

तर, अर्को इन्डबाट रदरफोर्डले पनि खुलेर खेल्न सकिरहेका थिएनन्, त्यसले गर्दा रनरेटको प्रेसर बढ्दै गयो । तीन ओभरको खेल बाँकी छँदा मोन्ट्रियललाई ४० रन चाहिने भयो । यस्तोमा सिंगल–डबलले मात्रै काम गर्नेवाला थिएन । कथाले एन्ड्रे रसेल मागिसकेको थियो ।

१८ औं ओभरमा १५ रन जोडेपछि मोन्ट्रियल अलिकति उक्सियो । उक्त ओभरमा रदरफोर्डले एक चौका र एक छक्का प्रहार गरेका थिए । ऐरीले भने ठूलो सट हान्न सकिरहेका थिएनन् । अन्ततः सो ओभरमा टीमले टीमले महत्त्वपूर्ण रणनीतिक मूभ लियो । ऐरीलाई फिर्ता गराएर एन्ड्रे रसेललाई क्रिजमा पठाइयो ।

क्रिकेटमा कुनै पनि ब्याट्सम्यान विपक्षी टिमबाट आउट नभईकन बाहिरिन सक्ने प्रावधान हुन्छ, जसलाई ‘रिटायर्ड आउट’ भनिन्छ । यो भनेको ‘स्वेच्छिक अवकाश’ जस्तो हो । एकपटक क्रिज छोडेपछि फर्किन मिल्दैन ।

क्रिकेटमा रिटायर्ड हर्ट र रिटायर्ड आउट हुनु फरक कुरा हुन् । यदि ब्याट्सम्यानलाई चोट लागेर वा अन्य कुनै कारणले खेल्नै नसक्ने भएमा तत्कालका लागि बाहिरिनुलाई ‘रिटायर्ड हर्ट’ भनिन्छ । रिटायर्ड हर्ट भएका ब्याट्सम्यान फेरि खेल्न सक्ने भएमा विकेट पतनपछि क्रिजमा फर्किन सक्छन् । रिटायर्ड आउट चाहिँ आउट सरह नै हो । र विकेटमा काउन्ट हुन्छ ।

दीपेन्द्र बाहिरिएर रसेल आएपछि विपक्षी टिमका कप्तान इफ्तिकार अहमद र केही खेलाडीले अम्पायरसँग सफ्ट प्रोटेस्ट समेत गरेका थिए । उनीहरूले रिटायर्ड आउटको प्रावधानलाई राम्ररी नबुझेर विरोध जनाएपछि अम्पायरले बुझाए ।

रिटायर्ड आउट हुनुपर्दा व्यक्तिगत रुपमा दीपेन्द्रलाई घाटा अवश्य भएको छ । बाँकी दुई ओभरमा उनले आफ्नो विष्फोटक क्षमता देखाउने मौका थियो ।

साथै, आउट नभईकन आउट हुँदा उनको औसतमा पनि प्रभाव पर्छ । यद्यपि, उनले टीम भावना देखाएर सहज रुपमा क्रिज छोडे । आखिर व्यक्तिगत आँकडा भन्दा टीमको जित नै ठूलो हो ।

कप्तानले मागे दीपेन्द्रसँग माफी

कप्ता क्रिस लिनले नेपाली अलराण्डर ऐरीसँग रिटायर्ड आउट गराएकोमा माफी मागेका छन् ।

उनले म्याचपछिकाे प्रिजेन्टेसनमा भने, ‘मैले कुनै दिन पनि ब्याटरलाई रिटायर गराउनेछु भनेर सोचेको थिइन् । दीपेन्द्रसँग म माफी माग्न चाहन्छु । तर टीमलाई सशक्त बनाउन कहिलेकाँही यस्तो निर्णय लिनुपर्छ । र हामीले लिएको निर्णय सही साबित पनि भएको छ ।’

उनले दीपेन्द्र क्षमतावान खेलाडी भएकाे भन्दै प्रशंसा गरे ।

‘सिचुयसनका कारण उनको ठाउँमा आन्द्रे रसेललाई पठाउनु पर्यो। तर दीपेन्द्रले प्रतियोगिताभर राम्रो प्रदर्शन गरे। उनी क्षमतावान् खेलाडी हुन्, उनले ब्याटिङ, बलिङ र फिल्डिङमा राम्रो गरे,’ लीनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *